कोरोनाको कहर बिच अर्को चिन्ताको बिषय थपिएको छ भारतमा विनाशकारी किरा सलह पसेको छ । यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ । नेपाल संग सिमा जोडीएका राज्यहरूमा सलह किराको आतंक देखिए संगै नेपालमा पनि चिन्ता बढेको हो ।
गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् । सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।
सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना छ।
यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।
के हो सलह ?
सलह फट्याङ्ग्रा वर्गको कीरा हो। संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको छ। सलहको वैज्ञानिक नाम Schistocerca Gregaria हो । यसले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पुर्याउँछ।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ। यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्न सक्छ। यो कीरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ। नेपालमा पनि सूदुरपश्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ।
एसिया महादेशमा पर्ने देशहरू जस्तै– भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति पुर्याउन सुरु गरिसकेको छ । यसलाई संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले सलह (Locust) प्लेगको पनि संज्ञा दिएको छ। यो किराको आकार अफ्रिका, मध्यपूर्व र एसियाका खाडी देशमा आजभन्दा ७० वर्षपहिले देखिएकोभन्दा २० गुणा ठूलो मानिएको छ । ती देशका सरकारहरूले यसलाई कोरोना भाइरस र अमेरिकी फौजी किराभन्दा धेरै गुणा क्षति पुर्याउन सक्ने भनी दाबी गरिरहेका छन्।









