सरकारले आउँदो आर्थिक वर्षमा तीन सय पालिकामा भूमि बैंक स्थापना गर्ने भएको छ । बाँकी पालिकाहरुमा पनि यो प्रणाली बिस्तारै विस्तार गर्दै लैजाने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले सरकारी स्वामित्व बाहेकका जग्गालाई निश्चित समयका लागि लिजमा दिने गरी भूमि बैंकको स्थापना गर्न लागिएको बताउनुभयो । त्यस्ता जग्गामा कृषि गर्नेका लागि कृषि सामग्रीमा सहुलिय दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । त्यसका लागि सरकारले आउँदो आर्थिक वर्षका लागि सामग्रीमा सहुलियत दिन ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियतको व्यवस्था गरिने भएको छ । मुक्त कमैया, सुकुम्बासीलगायतका लागि जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याइने पनि मन्त्री खतिवडाले बताउनुभयो ।