पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा थप दुई जनाम बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार मात्रै ७ जना कोरोना संक्रमित भेटिएको पाल्हीनन्दनमा विहिबार थप दुई जनामा संक्रमण पुष्टि भएको हो । भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा दुई पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिुनभयो ।
संक्रमित मध्ये वडा नम्बर १ का २१ वर्षीय र वडा नम्बर ४ का ३२ वर्षीय पुरुष रहेका छन् । क्वारेन्टाईनमा रहेका उनीहरुमा केहि दिन अगाडी गरिएको परिक्षणका क्रममा आरडिटि पोजेटिभ देखिएको थियो । संक्रमित दुवै जना भारतबाट आएको बताईएको छ ।
उनीहरु कसरी आए र क्वारेन्टाईनमा जानु अगाडी कसैको सम्र्पकमा आए आएनन् भन्ने बारे कन्ट्रयाक ट्रेसिङ्ग गरेपछि खुल्ने ढकालले बताउनुभयो । संक्रमितलाई पाल्हीनन्दनको लोहरौलिमा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमै राखिने छ ।
यससँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या १७ पुगेको छ । सुनवल नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा संक्रमित भेटिएका छन् । संक्रमित मध्य प्रतापपुर र सुस्ताका तीन जना भने कोरोना मुक्त भएर घर फर्किएका छन् ।