गृहपृष्ठ Featured पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ।

हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन्।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार बिहीबार राति चरमपन्थीहरूले ‘मांझी खेल’ सुरक्षा चौकीमा घुस्ने प्रयास गरेका थिए।

सुरक्षा बलले उनीहरूको पहिलो प्रयास असफल पारेपछि भागेका आक्रमणकारीलाई पछ्याएर कारबाही गर्दा १२ जना मारिएका थिए।

आईएसपीआरका अनुसार प्रारम्भिक आक्रमण असफल भएपछि चरमपन्थीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन चौकीको पर्खालमा ठोक्काएका थिए।

त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको थियो।

विस्फोटमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक अधिकारीको मृत्यु भएको आईएसपीआरले जनाएको छ।

बिबिसीका संवाददाता अजीजुल्लाह खानका अनुसार विस्फोटले मांझी खेल चौकी पूर्ण रूपमा नष्ट भएको छ। घाइते सुरक्षाकर्मीहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि टांक जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासनले धारा १४४ लागू गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ।

आईएसपीआरका अनुसार घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा बलले खोजी तथा सर्च अभियान जारी राखेको छ।

सम्बन्धित् समाचार