कपिलवस्तु जिल्लामा निर्माण गरिएका अधिकांश आइसोलेसन वार्डहरु मापदण्ड विपरित रहेको पाईएको छ । कोरोना संक्रमितको उपचारका लागि निर्माण गरिएका आइसोलेसन वार्डमा पोषिलो खानेकुरा, बसार्इ व्यवस्थापन लगायतका अति आवश्यक सेवा प्रवाह हुन सकेको छैन ।
आइसोलेसन वार्डको मापदण्ड अनुसारका बेड पनि नराखिएको पाईएको छ । २४ घण्टा स्वास्थ्यकर्मी, मेडिकल अफिसरको ड्युटीको प्रबन्ध पनि हुन सकेको छैन । जिल्लाका विभिन्न पालिकाले ५ सय बढी आइसोलेसन वार्ड स्थापना गरेको बताएका छन् । तर केही वार्डबाहेक अधिकांश वार्ड क्वारेन्टाइनसरह नै छन् ।
अहिले निर्माण गरिएका आइसोलेसन वार्डमा कोरोना संक्रमितलाई कुनै जटिल समस्या देखिइ हाल्यो भने उनीहरुलाई थप उपचार गर्न जिल्लामा कोरोना विशेष अस्पताल स्थापना हुन सकेको छैन ।
जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना विशेष अस्पताल बनाउने खालका भवन उपलब्ध नभएका कारण सदरमुकाम तौलिहवामामा तत्काल कोरोना विशेष अस्पताल निर्माण गरिनुपर्ने यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।
मुलुकमै संक्रमितको संख्या बढी भएको जिल्लामा कोरोना संक्रमण रोकथामका लागि गर्नुपर्ने प्रयास प्रशस्त मात्रामा हुन नसकेको तौलिहवाका अगुवा युवा प्रकाश घिमिरेले बताए ।