
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले २० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना महामारी नियन्त्रण पूर्व तयारी अन्तर्गत शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसन सेन्टर सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।
स्वास्थ्य चौकीबाट दिइँदै आएको सेवालाई वडा नं। २ को कार्यालयमा स्थानान्तरण गरी २० बेडको आइसोलेसन सेन्टर तयार गरिएको हो ।
बुटवल कोरोना अस्पतालसँगको समन्वयमा कोरोना संक्रमित पुष्टि भएपनि लक्षण नदेखिएकाहरुलाई आइसोलेसन सेन्टरमा राख्न थालिएको छ । यहाँ सोमबारसम्म नगरपालिकाकै तीन जना संक्रमितसहित १४ जनालाई राखिएको आइसोलेसन सेन्टर इञ्चार्ज केशव भट्टराईले बताए ।
आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । आइसोलेसन सेन्टरमा एक जना चिकित्सक, एक जना नर्ससहितका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी खटिएका उनले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका संक्रमित तथा सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।
सेन्टरमा २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको चिकित्सक संजोग पाठकले बताए । तिलोत्तमा नगरपालिकाले आइसोलेसनको लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ ।
कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकास गरेर लैजाने गरी पूर्वाधार निर्माण गरिएको नगर प्रमुख घिमिरेले बताए ।








