सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताएका छन्।
प्रतिनिधिसभा संसद बैठकमा शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन्।
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उनले भने, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’
कालापानी, सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारत सरकारले बारम्बार स्वीकार गरेको उनले स्मरण गराए । गत नोभेम्बरमा भारतले आफ्नो नयाँ नक्सा प्रकाशित गरेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘कश्मीर मुद्दामा लामो समयदेखि रहेको आफ्नो आन्तरिक समस्या समाधान गर्ने उपायका रुपमा नयाँ नक्सा प्रकाशित गरेको थियो, भारतको चाहना नेपाललाई जिस्क्याउनु थिएन होला ।’
भारतले आफ्नो ढंगले नयाँ नक्सा प्रकाशित गर्नु र विवाद छ भनेको भूमिलाई आफ्नो नक्सामा प्रकाशित गर्नु प्रकारान्तरले हामी सबैलाई झक्झक्याएको उनको भनाइ थियो ।
वार्ताका लागि नेपालले भारतलाई प्रस्ताव गरेको तर त्यसका निम्ति तत्परता देखाउनुभन्दा भारत सरकारकै एक मन्त्रीले त्यही भूभाग हुँदै बनाइएको बाटो लकडाउनकै उद्घाटन गर्नुले हामी सबैलाई उद्वेलित बनाएको उनले प्रष्ट पारे ।
नक्सा प्रकाशित गरेर र बाटो उद्घाटन गरेर भारतले नेपालीलाई एकतावद्ध हुन र आफ्नो गुमेको भूमि फिर्ता लिन घच्घच्याएकोमा प्रचण्डले धन्यवादसमेत दिए । यद्यपि यो परिस्थिति आउनु अघि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो भन्ने उनले जिकिर गरे ।
प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन्।
‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन। राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उनले भने।
उनले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए। लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ।
भारतसँग नेपालले कुनै दुश्मनी नराख्ने उनले बताए।
‘यो समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर छौं। यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो। हाम्रोतर्फबाट अधिकतम प्रयास गरिएको हो,’ प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका छौं। आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन।’
प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताए। नेपालको राष्ट्रिय मुद्दामा एकठाउँमा हुने सावित फेरि एकपटक विश्वसामु देखाएर सन्देश दिएको उनले बताए। प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि अपिल गरेका छन्।