प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्। शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब भारतसँग वार्ता गरेर अगाडि बढ्ने बताए।
प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र अखण्डताको पक्षमा राम्रो कुरा भएको उल्लेख गरे।
आगामी प्रक्रिया के हुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ।’ शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए।
उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन्।