सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने ‘पूर्ण लकडाउन’ यथावत् रहने भएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ।
सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको हो ।
गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए ।
सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेखमा लकडाउन जारी हुने भएको हो। यी चार वटै जिल्लामा ‘एक्टिभ’ संक्रमण संख्या २ सय बढी छ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गृहको औपचारिक निर्देशन आउन बाँकी रहेको जनाए निर्देशन आउनसाथ लकडाउन कडा रूपमा लागु गर्ने वैखरी अनलाइन लाई बताएका छन ।
‘हामीलाई यसबारे लिखित जानकारी आएको छैन। त्यस्तो आउनसाथ तुरून्त लकडाउन जारी गर्छौं,’ उनले भने।
झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो।








