सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको ठूलोसिरुवारीमा रहेको श्री गणेश आधारभूत विद्यालय प्रवेश गर्दा अधिकांश शिक्षिकाहरु मास्क लगाएर कार्यकक्षमा आ-आफ्ना शैक्षिक जिम्मेवारी पूरा गर्दै थिए । एक जना शिक्षिका शिशु कक्षामा बच्चाहरुलाई सामाजिक दुरी कायम गरेर पढाउँदैं थिइन् । कक्षाकोठामा रहेका सबै विद्यार्थीहरुको अनुहारमा मास्क थियो । कक्षाकोठा चिटिक्क र सफा थियो । अधिकांश अर्थात् ८ जना शिक्षिकाहरुले शिक्षण गर्ने उक्त विद्यालयको वातावरण राम्रो देखिन्थ्यो ।
कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा दैनिक एक मात्र कक्षालाई अध्ययन गराउने गरिएको विद्यालयकी प्रधाानाध्यापक तारादेवी रानाले बताइन् ।
रानाले अगाडि भनिन्, “असार १ गतेदखी नियमित विद्यालयमै बोलाएर पढाइएको छ । असार १ गते कक्षा ३, २ गते कक्षा २, ३ गते कक्षा १, ४ गते यूकेजी र आज एलकेजीका बच्चाहरु विद्यालय आएका छन् । भोलि नर्सरीको कक्षा सकिएपछि पुन कक्षा ३ बाट शुरु गरिनेछ । हामीले विहान ७ः३० बजेबाट १०ः०० बजेसम्म कक्षा संचालन गरिरहेका छौं ।”
प्रधानाध्यापक रानाका अनुसार दैनिक हरेक विषय पढाइ हुने र २५ मिनेटको एक पिरियड बनाएर सबै विषय पढाइएको छ । असारभन्दा अघि शिक्षिकाहरुको पहुँचमा रहेको विद्यार्थीलाई हरेक टोलमा गएर गृहकार्य दिने र उनीहरुको गृहकार्य जाँच गर्ने कार्य गरिरहेकोमा अहिले वैकल्पिक प्रणालीबाट विद्यार्थीका सिकाइ सहजीकरण निर्देशिका २०७७ आएपश्चात् विद्यालयमा विद्यार्थी बोलाएर पढाउन सहज भएको रानाको भनाई थियो । शिक्षा समितिको वैठकले सामाजिक दुरी कायम गरेर पढाउन सकिने निर्णय गरेकाले उक्त निर्णयलाई कार्यान्वयन गरिएको रानाले बताइन् ।
विद्यालयकी शिक्षिका गंगाा पराजुलीका अनुसार भेगीय हिसाबले टोलमा गएर अध्ययन गराउदा बस्ने स्थानको समस्या भएकोले विद्यालयमा पढाउन र समाजिक दुरी कायम गर्न सहज भएको जानकारी दिइन् ।
अर्की शिक्षिका शान्ती गिरीले अघिल्लो महिनामा नै हरेक विद्यार्थिका घरघरमा गएर पाठ्यपुस्तक वितरण गरिएको बताइन् । उनले विद्यार्थीहरु टाढामा आधा घण्टाबाट आउने भएकोले विद्यार्थीकोमे शिक्षक जाँदा वा विद्यार्थी विद्यालयमा आउँदा पनि शिक्षिकाहरुले मिहिनेत गरेर कार्य गरिरहेको जानकारी दिइन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक समितिका संयोजक तथा वडा नं १३ का वडाध्यक्ष रामप्रसाद गौतमले विद्यालयहरुमा कक्षामा सामाजिक दुरी कायम गरेर पढाउने निर्णय अनुसार नै नगरपालिकाका अधिकांश विद्यालयहरुले सामाजिक दुरी कायम गरेर पढाउने कार्य शुरु गरेको जानकारी दिए । वडा नम्बर १३ ठूलोसिरुवारीका ६ वटै विद्यालयमा विद्यालयमै गएर पढाउने गरिएको गौतमले बताए । एक कक्षा बढीमा १० जना राखेर पढाउन विद्यालयहरुलाई निर्देशन दिएको वडाध्यक्ष गौतमले बताए ।
कुल ८२ जना विद्यार्थी रहेको श्री गणेश आधारभूत विद्यालय जस्तै चौताराका सबैजसो विद्यालयले विद्यालयमै सामाजिक दुरी राखेर पढाइएको छ । कोभिड १९ को संक्रमण जोखिमका कारण वैकल्पिक सुविधा नभएका र संक्रमणको कम जोखिम भएका क्षेत्रमा श्रीगणेश विद्यालयले जस्तै पढाउने सक्ने देखिन्छ ।
त्यसैगरी सुर्खेतको अमरज्योति नमूना मावि वीरेन्द्रनगरले पनि सामाजिक दुरीमा सिकाइ प्रारम्भ गरेको छ।
यस अघि नै झापा जिल्ला शिवसताक्षी नगरपालिका- ३ को शान्ति आधारभूत विद्यालयले भौतिक दूरी कायम गरेर पठनपाठन सुरु गरिसकेको छ।








