२०७६ साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किरा ११ महिनामा ५८ जिल्लामा फैलिएको पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको छ । यसले उमिँ्रदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाइदिन्छ ।
मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरबाट विवरण मागेको थियो । केन्द्रले पाएको विवरणमा प्रदेश १ का ११ जिल्लाका ३२ हजार ५४० घरधुरी किसान फौजी किराबाट प्रभावित भएको उल्लेख छ ।
क्षतिको जिल्लागत विवरण
प्रदेश १ का उदयपुर, ओखलढुंगा, सुनसरी, भोजपुर, इलाम, झापा, खोटाङ, धनकुटा, पाँचथर र मोरङमा करिब एकलाख २२ हजार ३९५ हेक्टर मकै बालीमध्ये १० हजार ६३४ हेक्टरमा किराको प्रकोप देखिएको छ । प्रदेशको कुल मकै खेतीमध्ये २५ प्रतिशतमा किराको प्रकोप रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेश २ का धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र सिराहा गरी सात जिल्लाको मकै खेतीमध्ये २५ प्रतिशतमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।
वाग्मती प्रदेशका १३ जिल्लामा फौजी किरा देखिएको छ । यो प्रदेशका रामेछाप, चितवन, मकवानपुर, सिन्धुली, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा र काभ्रे जिल्लाको कुल मकै खेतीमध्ये २० प्रतिशतमा किराले क्षति पुर्याएको छ ।
गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ, नवलपुर, गोरखा, बागलुङ, कास्की, लमजुङ र पर्वत जिल्लाको २५ प्रतिशत मकै बाली फौजी किराले नाश गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेश ५ का बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, गुल्मी, रुपन्देही, नवलपरासी, पाल्पा, अर्घाखाँची र रुकुम गरी १२ जिल्लामा फौजी किरा पुगेको छ । यो प्रदेशमा कुल मकै खेतीको २० प्रतिशत बालीमा किराको क्षति देखिएको छ ।
कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान र जाजरकोटको मकै बालीमध्ये १५ प्रतिशत यो किराले खाइदिएको छ भने सुदूर पश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र दार्चुलाको कुल मकै खेतीमा २० प्रतिशत क्षति पु¥याएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता समेत रहेका सह–सचिव डा। हरिबहादुर केसीका अनुसार नेपालको कुल मकै खेतीमध्ये २१ प्रतिशतमा फौजी किराले क्षति पु¥याएको देखिएको छ ।