गृहपृष्ठ खबर बार्सिलोनालाई उछिन्दै रियल लिगाको शीर्ष स्थानमा उक्लियो

बार्सिलोनालाई उछिन्दै रियल लिगाको शीर्ष स्थानमा उक्लियो

प्रकाशित मिति:

भिनिसियस जुनियर र सर्जियो रामोशको गोलको मद्दतले मार्योकामाथि सहज जित हासिल गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ । जिनेदिन जिदानको टोली र बार्सिलोनाको बराबर ६८ अंक रहे पनि हेड टु हेडको आधारमा रियल शीर्ष स्थानमा पुगेको हो ।

खेलको पहिलो हाफमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रामोशले रियलको जीत सुनिश्चित गरे । यो सिजन रामोशको यो दशौँ गोल थियो । रियलका लागि एडिन हजार्ड र करिम बेन्जेमाले गोलको सुन्दर अवसर गुमाएका थिए ।

मार्योकाले खेलमा १५ वर्षीय लुका रोमेरोलाई डेब्यु दिएको थियो । योसँगै उनी लिगमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने । अब बाँकी ७ खेलमा सबैमा जित हासिल गरे, रियलले सन् २०१७ पछि पहिलो उपाधि जित्नेछ । यता, हारपछि मार्योका भने रेलिगेसन क्षेत्रमा रहेको छ ।

अन्य खेलमा सेल्टाभिगोले रियल सोसिडाड र ओसासुनाले आलाभेसलाई समान १–० को गोलअन्तरले हरायो ।

सम्बन्धित् समाचार