गृहपृष्ठ Featured नेपालमा पहिलो पटक सलह किरा देखियो

नेपालमा पहिलो पटक सलह किरा देखियो

नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।

कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।

सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

के हो सलह ?

सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्कोस्थानमा उड्छ ।

यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ । त्यस्तै यसको प्रजनन क्षेत्र र अण्डा नष्ट गर्ने, जैविक विषादी छर्कर्ने, झुल तथा जालको प्रयोग गरेर पक्रेर नष्ट गर्नेजस्ता उपाय स्थानीय तहमा अपनाएर क्षति थोरै भए पनि कम गर्न सकिने विज्ञ औँल्याउँछन् ।

 

सम्बन्धित् समाचार