गृहपृष्ठ Featured प्रदेश ५ को रूपन्देहीमा पनि देखियो सलह

प्रदेश ५ को रूपन्देहीमा पनि देखियो सलह

रूपन्देही जिल्लामा पनि सलह कीरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।

बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरूबाट सलह कीरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारिरहेको बताए । सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए ।

नियन्त्रणका उपाय

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अनपनाउन नसकेको जानकारहरू बताउँछन् ।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।

विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी हुने जानकारहरू बताउँछन् । यी सबै विषादीको प्रयोग गर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाउने लगायतका सावधानी अपनाउनुपर्ने प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

सम्बन्धित् समाचार