गृहपृष्ठ खबर बैठकमा चार सदस्यद्धारा प्रधानमन्त्रीको राजीनामा माग, पर्यटन मन्त्री भट्टराई भने बचाउको पक्षमा

बैठकमा चार सदस्यद्धारा प्रधानमन्त्रीको राजीनामा माग, पर्यटन मन्त्री भट्टराई भने बचाउको पक्षमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा पनि बोल्ने ५ मध्ये चार जनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग राखेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा बोलेका स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, मातृका यादव , नन्दकुमार (एनके) प्रसाई र पेशल खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्नु भएको बताइएको छ । पूर्व माओवादी केन्द्रका यी सदस्यले राजीनामा माग्दा पूर्व एमाले सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराई भने प्रधानमन्त्री ओलीको बचाउ गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी हित विपरीत कार्य गरेको , पार्टीको शाख गुमाउने काम गरेको , पार्टीको सुझाव विरुद्ध स्वेच्छाचारी शैलीले सरकार चलाएको र पार्टी नै मै हुँ भन्ने प्रवृति देखाएको आरोप राजीनामा माग गर्ने सदस्यहरुको रहेको थियो ।

यता मन्त्री भट्टराईले भने सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्न ठीक नभएको तर्क गर्दै विषम परिस्थितिमा पार्टी एक भएर अघि बढ्नु विकल्प नरहेको बताउनु भएको थियो ।

मंगलबार बसेको बैठकमा शीर्ष नेताहरुबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि सरकार सकसमा परेको भन्दै प्रधानमन्त्री ओलीले आज विहान आफु निकट मन्त्री र सांसदहरुसंग छलफल गर्नु भएको थियो ।

सम्बन्धित् समाचार