कथा – सपना

त्यही नै अन्तिम भेट बन्यो आखिर -१

कत्ति शान्ति छैन मन । निस्सार र निरस जिन्दगी । आखिर किन र के का लागि ? यस्तै प्रश्नहरू घेरिईरहन्छन् । कामधन्दा भन्दा पर पर पुग्ने रहर हुन्छ । सपना र रहर नै नहुने अर्को कुनै लोक छ भने त्यहि उडेर जाउँ जस्तो । कहिले काला बादलका टुक्रामा आफ्नो अनुहार देखिन्छ । कहिले बुंग उडेको धुलोमा आफ्नो जिन्दगी ।

आँगनमा चाउचाउ, बिस्कुट र चक्लेटका कागज यत्रतत्र थिए । केही चिउरा र भुजाका टुक्रा पनि । भुर्र उड्दै एउटा भँगेरी आई । त्यसको केही क्षणमा अर्को सानो बचेरा । भँगेरीले चारो टिप्छे ( भुजा र चिउराका टुक्रा । बचेराले जान्दैन । केवल भँगेरीको पछि पछि लागेर भुर्र भुर्र गर्छ । देवानीले यो दृश्य अघिदेखि एकटक नियाली रहेकी थिई । उसले यता उता आँखा डुलाई । कता हो कता भँगेरा आउला भन्ने आशा जाग्यो । धेरै बेर हेरी । भँगेरो आएन । बरु बचेरोलाई त्यही छाडेर भुर्र उडी भँगेरी । बचेरो कता लाग्यो कता ।
आजकाल खासै केही कुरा सोच्दिन देवानी । सोँच्नु भनेको समय ब्यर्थ फाल्नु हो जस्तो लाग्छ । हुने कुरा नभै छाड्दैन । नहुने कुरा कसैगरी हुँदैन । पसलमा ग्राहकको कमि कहिल्यै हुन्थेन । केही ग्राहक पुराना दैनिकी थिए । केहि आक्कल झुक्कल । कोही नितान्त नयाँ पनि । कोही आफ्नै जस्ता । कोही निर्मम पराई । कहिलेकाँही दिक्दार हुन्थी । तर के गरोस् १ आखिर ग्राहक उसका देवता थिए । त्यो सानो छाप्रोलाई उसले मन्दिर मानेर बसेकी थिई । आफू एक अघोषित पूजारी ।

मूल बाटो छाडेर सानो गल्ली । गल्लीको चोकको आडैमा एउटा निमको बोट । निमको बोटको छहारीमा टिनको रातो खिया लागेको छानो । ब्लकले बनेको एक तले घर । कति ब्लक चर्केका । कति ब्लक बीचैबाट उप्केर खोपिल्टा परेका । देवानीको सारा संसार नै त्यहि थियो । खाने, बस्ने, सुत्ने । सपना देख्ने देखि लिएर सपना सजाउने । हाँस्ने रुने सबै सबै ।

पूर्वको इटहरीमा जन्मेकी । पछि काठमान्डौको बसाइ । कलेज पढ्दा पढ्दै भागेकी । आफै बिहा गरेकी । उपाध्याय बाहुनकी छोरी । क्षेत्रीसंग हिँडी भनेर माइतीले वास्ता गरेनन् । सुरुका केही वर्ष सुखमै बिते । देवले प्राईभेट भए पनि कमाइ राम्रै गर्थ्यो । काठमाण्डौमा बसाइ गज्जबले टर्थ्यो । कहिल्यै माइतीको अभाव महसुस हुन दिएन । मुख फुलाएर गर्वले देवको नाम लिन्छे अहिले पनि । खास नाम देवकला थियो । देवले ( देवानी बनायो । देबकला बाट देवानी भई । पूर्वकी मान्छे राजधानी पुगी । काठमाण्डौ बाट मोडिएर बुटवल आईपुगी । जिन्दगी घुमाउरो बाटो रहेछ । अलि बोल्ने मन मिल्ने ग्राहक भेटे दुःख सुखका कुरा गर्थी । कहिले देव संग घुम्न जाँदाका रमाइला क्षण सम्झन्थी । कहिले डे नाइट सो गएर हेरेका हिन्दी सिनेमाका कुरा झिकेर आँखा तन्काउथी । माइती र घरजमका प्रसङग झिक्थी । सनातन बिद्रोहीको उपमा गाँस्थी आफूमा ।

जिन्दगी भोगाइको पाटो एउटा थियो । देखिने आवरण अर्कै । सित्ती कोहि संग खुलेर बोल्दिन उm । बोले पनि एकदम परि पुर्‍याएर बोल्छे । कोही काठमाण्डौबाट आएका ग्राहक भेटिए अरु बढी गफिन्थी । झन्डै आठ बर्ष काठमाण्डौमा बिताई । पाँच बर्ष पुरै ब्यवसाय गरेर । च्या चुरुट बेचेर । काठमाण्डौको महंगी । छोरी बर्षदिनकी पुग्दा देवले संसार छाडे । दुर्घटनामा परेर । भए बँचेको अलिअलि पैसो पनि ओखतीमुलो मै सकियो । त्यसपछी चिया पसल थापेकी थिई । मैतीदेवी चोकको भित्री गल्लीमा । काठमान्डुको महंगी । उसमाथी महंगो सटरभाडा । पसलले खर्च थाम्नै मुस्किल भयो । यौटै घरमा बस्ने दाइले बुटवलमा हिँड उतै पसल गरौली, मैले ब्यवस्था गरिदिउँला भाडा तिर्न नपर्ने गरी भने । उनकै भर मानेर हिँडी । आफन्तै नभए पनि आफ्नै सम्झेर । स्कुल पढ्ने छोरी होस्टेलमा राखेर । सुरुका दिनमा बुटवलको बसाइ पनि कष्टकर ने रह्यो । बिस्तारै मान्छे चिन्दै गई । चिया मात्रै होइन । खाजा नास्ता संगै सबै कुरा बेच्न थाली ।

आज पाँच बर्ष बितेछ । छोरी छ भनेर कसै संग भनेकी छैन आज सम्म । पहिले बर्षमा दुईरतिन चोटी भेट्न पुग्थी काठमाण्डौ । पछिल्लो दुई बर्ष भो गएकी छैन । पैसा बैंक बाटै हालिदिन्छे । कहिले काँही फोन गर्छे । छोरी( मामु कहिले आउनुहुन्छ रु म होस्टेल बस्दिन भन्छे । कहिले ( मामु म त्यहि आउँछु भन्छे । देवानी दिक्क छ ( जिन्दगीको हिसाब नमिलेर । आफू त जे जसरी रमाएकै छ । छोरीको सुर्ता । छोरी भएर जन्मनुमा धिक्कार छ उसलाई । अझ धिक्कार्छे छोरीकी आमा हुनुलाई । छोराको आमा हुनुमा गर्व गर्थी देवदास सँग । मत बाझिन्थ्यो कहिले काँहि । छोरी हुनुमा सौभाग्य देख्थ्यो देवदासले । एवं रीतले चलेथ्यो जीवन । जिन्दगीका केहि बर्ष खुशीका रंगीन बेलुन भएर उडे । कति बर्ष आँसुको नदीमा बगेर बित्यो । अतितको डम्म कुहिरोले छेकिएरै बिते अरु कति बर्षहरु । जिन्दगी केवल बित्न कै लागि बिते जसरी ।

कोही अविवाहित हो भन्छन् । कोही बिहा गरेर पोइ छाडेर हिडेकी हो भन्छन् । आफ्नो कथा ब्यथा आफै भित्र थियो । परिचय कहाँ के हो थाहा छैन । कहाँ के भइरहेछ रु के हुनु पर्थ्यो रु कुहिरो भित्र रुमलिएको काग जस्तै । केहि पत्तो नपाइ दुख सुखका बिलौना पोखेर सारंगी झैँ रेटिइरहेकी छ जिन्दगी ।

दिउसै पसल बन्द गरी आज । मन भारी भैरहेछ । राती निकै नराम्रो सपना देखी । सपनामै रोईरहेकी । ब्युझिँदा पनि आँखामा आँसुको तलाउ थियो । सपनाहरु देखिने हराउने भैरहन्थे । निःप्रभाव रहन्थे । खै आज के भयो रु भुईचालो ल्याइदियो मनमा । धर्मसंकटको भुमरीमा परी । बाँच्नका लागि के गरिन उसले । सबै सबै भोगाइहरू आँखामा चलचित्र भएर देखा परिरहे । धेरै चोटी मुख धोई । आँखा पखाली पानीले । तर के पखालिन्थे र दृश्य १

“पसल बन्द गरेर कता हो साउनी ?
चुरुट तान्दै एकछिन गफ गर्न पर्‍यो भनेर तपाईँको मा जाँदै थिएँ ।”

देवानी अक्क न बक्क भई । एक मनले सोँची ( वास्ता नगरी सरासर जाउँ ) अर्को मनले सोँची ( होइन केहि नबोली कसरी जाऊँ ? केवल हेरीरही ।

“के भयो देवानी जी ,
टोलाउनु भयो नि ?”

उm हतारिँदै जवाफ दिई – “ए, केही होइन” ।

“के छ खबर ? अलि भावुक देख्छु नि । केही बिपद् पर्‍यो कि ी”

“त्यस्तो केही होइन बाबु , पसलमा बसिरहन दिक्क लाग्यो । आज ग्राहक नि खासै आएका छैनन । त्यसैले यसै बाहिर निस्केकी ।“

“कतिबेला हुन्छ फर्कँदा ? आज एकछिन तपाइँकोमा बसौँ कि जस्तो लागेको छ । अहिलै कोठामा गएर पनि के गर्नु ?”

उसले घडि हेरी, साँझ पर्न बाँकी थियो । अनि – “ छिट्टै निस्कनु भएछ त बाबु अफिसबाट” ।

“केही तनावमा छु आज । यसै यसै दिक्क लागिरहेछ । ठिकै छ नि त पछि बसौँला । म यतै कतै भुल्दै गर्छु । तपाईँ छिट्टै फर्कनु ।“

देवानी अलमलमा परी । उकुसमुकुस थियो मन भित्र । आखिर, उm पनि सहारा बिहिन भएरै निस्केकी थिई । कहाँ हो कहाँ भौतारिँदै । रिजन अघि बढीसकेको थियो । बोलाई – “बाबु , सुन्नुस् त ।। ।“
रिजन रोकिएर पछाडी फर्कियो ।
“यसै माथीतिर जाऊँ न । तपाईँ पनि एक्लै कता भुल्नु हुन्छ र ।“

दुबैजना मेन रोडको दायाँ साइडबाट गफिदै अघि बढे ।

सडकमा विद्यालय र कार्यालय छुटेर निस्कने सवारीको चाँप । बुटवलमा रिक्सा र नगर माइक्रो को मारामार । बन्दै गरेको सडक भत्किने र बन्ने क्रम उस्तै । सरकारले एसपि खटाएकोले प्रशासन चुस्त दुरुस्त बन्ने यौटा हल्ला । बुटवल उपमहानगर बन्ने अर्को हल्ला । कति सरकारी कति ब्यापारिक हल्लाकै भरमा चलेको छ सहर । सिध्दार्थ राजमार्ग र महेन्द्र राजमार्ग आफ्नै उचाइमा सवारी खेदिरहेछन् । पूर्वपश्चिम जोड्ने तिनाउ नदी माथिको पुल जिर्ण बन्दैछ । कति ठाउँ चर्किएको र भत्किएको पनि । साउन महिना तिनाउ धमिलो भएर बग्दैछ, आफ्नै सुरमा । पुरानो बटौली बजार अहिले हराउदै । सुक्दैछ । सिध्दबाबा, भयंकर प्रलय निम्त्याउने गरि दाह्रा निकालेर खित्का छाडे झैँ देखिन्छ । कति बेला पहिरो झरेर बाटो छेकीदिन्छ । कहिले तिनाउ उर्लिएर बाढी निम्त्याउँछ पत्तो नहुने । माथिपट्टी पर्ने मणिमुकुन्द पार्कमा ओहोर दोहोर गर्नेको आफ्नै रफ्तार छ ।

तमाम दुनियाँलाई छाडेर एउटा शान्त मन्दिर को पेटिमा बस्दै देवानीले भनी – “रिजन बाबु यहि बसौँ ।“

“बुटवलको बसाइ यत्ति नै रहेछ क्यारे ।“ रिजन देवानीको नजिकै भएर बस्यो । झण्डै छोइए जसरी ।

“मन भारी छ देवानी, जागिर छाडिदिएँ आजैका मितिदेखि । कति दिन गर्नु आखिर ?
कामदार हो भन्दैमा पशु सरह ब्यवहार गर्न पाइन्छ ?”

रिजनको मुखमा मधुरो आक्रोश थियो, देवानीले अनुहार हर्दै सोधी – तपाईँ त मेनेजर होइन र ?
नाम मात्रैको पदले केहि गर्दैन हेर ।
सरी, तिमी भनेछु, हेर्नुस् ।

देवानी बिचमै बोली , “ठिकै छ , तिमी र तपाईँ एउटै हो । जे भने पनि हुन्छ ।”

“न राम्रो कमाई । न कामको जस । आज बोस आएको थियो । नराम्रो बिवाद भो । गर्दिन तेरो जागिर भनेर राजिनामा दिएँ । हेर्नु न अस्ति मात्रै आमालाई एक महिना अस्पतालमा राखेर डिस्चार्ज गरेको । कमाइ यस्तै छ । ऋण बढेको बढयै छ न आमालाई कम हुन्छ । आमाले बिहा गर्न परो मैले बुहारीको मुख नदेखी मर्ने भएँ भन्नु हुन्छ । मलाई बिहेको सोचाइ नै आउदैन । अहिले पनि रियाको यादले उत्तिकै सताइरहन्छ । यति धेरै कमजोर बनायो । रियाको प्रेममा गहिरो संग डुबेको रहेछु । न उस्लाई फर्काएर ल्याउन सक्छु । उm त सायद बाध्यताले पनि मलाई भुल्दै होली तर म निकै कठीन जंघारमा हेलिँदै छु । खाली कसो गरौँ के गरौँ भईरहेछ । अस्ति मात्रै निवेदन दिएको दुई महिनामा पासपोर्ट हात पर्‍यो । बरु एकचोटी खाडी छिरौँ कि जस्तो भैरहेछ । खै के गरुँ ?

देवानी अवाक भई । भावना शून्य । एकातिर रातीको सपनाले उसलाई जिन्दगी जिउनुको हिनताबोधले थिचिरहेथ्यो । अर्को तिर रिजनको पीडा । रिजनसँग दुई बर्ष देखिको चिनजान उसको । बुटवलमा घुलमिल हुन दुबैलाई सजिलो भएथ्यो । रिजन दिनहु पुग्थ्यो । चिया, चुरोट पिउँथ्यो ।
कहिलेकाँही जिस्काउँथी – “अरु त त्यस्तै हो रिजन बाबु, तपाइलाई चुरोट पिएको चैँ सुहाउँछ के ।“ उm मख्ख पर्थ्यो ।

कहिले राती अबेर सम्मै बसेर निस्कन्थ्यो । उसलाई त्यहाँ गएपछी आफूलाई एक्लोपनाबाट मुक्त भएको पाउँथ्यो । देवानीको मनमा यौटा अपरिभाषित सम्बन्धको जरा टेकेर मनमा उभिएको थियो रिजन । धेरै कुरा बताएकी थिइ, आफ्ना बारे । मानौ उनीहरू दुवै जना अघोषित र अपरिभाषित सम्बन्धमा थिए ।

“म आफै बेचैन छु। हिजो राती नराम्रो सपना देखे । मनमा आगो बलिरहेछ । निभाउने कुनै उपाए छैन । अब तपाईँलाई के भनुँ बाबु ,” देवानीको अनुहार निकै मलिन देखियो ।

रिजन अक्मकिदै बोल्यो – “ओ हो , म हुस्सु , आफू तनावमा छु भनेर अरु सबै कुरा बिर्सेछु । नढाँटी भन्नुस् त तपाईँलाई के भाछ आज, किन पसल बन्द गरेर हिडेँको ?”

“जुन कुरा गरेर कुनै तुक छैन त्यस्तो कुरा किन गर्नु र ? भयो छाडिदिनुस् बाबु ।
छारीले दुख पाउने भई त्यहि पिरले सताइरहेछ ।“

“को छोरी ? के हो कुरा ? नभनी सुखै पाउनुहुन्न । कि तँ पराइ होस् केही बुझ्दैनस् भन्नु । होइन भने यसरी आफूलाई अँध्यारो भुमरीमा नराख्नू ।“

देवानीको आँखाबाट आँसुका ढिक्काहरू खस्न थाले । ठिक यहि ठाउँमा २ बर्ष अघि यसै गरेकी थिई रिया पनि । रिजन एकदम चेतना शून्य भो । उसलाइ रिया हो या देवानी छुट्याउनै मुस्किल पर्‍यो । यी नारीहरू कति कोमल मनका हँ ? कति सहजै खस्छ यिनीहरूको आँसु ।

“यो जीवन त्यसै त्यसै दिक्क लागिरहेछ । साँच्ची भनुँ भने मलाई बाच्नै मन छैन यो नरकीय जीवन ।“
हो बाबु , हिजो राती सपनीमा देवदासलाई देखेँ । वहाँ वितेको दश वर्ष भो कहिल्यै यस्तो भएको थिएन । वहाँले एउटै कुरा गरेर नबोली नबोली जानु भो ‍। “देवानी आखिर तिम्ले किन र के का लागि आफ्नो सतित्व लिलामी गर्‍यौ ? तिम्रो श्रीमान हुनुको नाताले मेरो आत्मा अशान्त र अधैर्य भएर भड्किरहेछ । तिमीले कहिल्यै सोँच्यौ – भोलि त्यो अबोध छोरी दिब्याले तिम्रो सबै कुरा थाहा पाउँदा के सोँच्ली ? के गर्ली ?”
“मैले रुदै बिन्ती बिसाएँ । आखिर यो सब मेरो बाध्यता थियो देवदास ।
मैले मेरो रहर र बैसको मातले कदापि गरेकी होइन प्राण । तपार्इँ मलाई यो आधा उमेरमै एक्लै छाडेर जानु भो । मैले दुई छाक टार्न र छोरीलाई पढाउन के सम्म गरिन । बाध्यताको चरम शिकार भएरै यो कर्म अँगालेकी हुँ । तपाईँ आफै भन्नु यो हालतमा म के गरुँ ?”

रिजनका अघि – तमाम एकल महिला, बिधवा नारी, अबोध प्रेमिका र सबै सबै प्रलयका नारीहरू एक पछी अर्को गर्दै देखा परे । लाग्यो यो केवल हजारौँमा एक प्रतिनिधी पात्र मात्रै हो ।

“ यो कुराले मलाई पनि पिरोलिरहेछ बाबु १ जुन दिन म बाध्यता बश यो कर्ममा होमिएँ त्यहि दिन देखि छोरीसंग कसरी मुख देखाउँ भनेर दुई बर्ष देखि काठमाण्डु जान सकेकी छैन । मलाई यो दुनिया यो संसार र यी सब कुरा देखि टाढा भाग्ने मन छ । “

भागेर कहाँ जानुहुन्छ देवानी ? तपाइँ जस्तो मान्छेले यस्तो निरास कुरा गर्ने हो ? यति धेरे संघर्ष गरेकी बाँचेकी मान्छे त अरुको समेत प्रेरणाको स्रोत हो । “

यी सब आदर्शका कुरा हुन् बाबु । समस्या भोग्नेलाई थाहा हुन्छ । देख्नेलाई होइन । तपाई लोग्ने मान्छे हो स्वास्नी मान्छेको जीवनको दश प्रतिशत हिस्सा सम्म थाहा हुदैन लोग्ने मान्छेलाई ।
कति गाह्रो छ धारिलो खुकुरीमा मुटु रेटेर बाँच्न ।

तपाईँ बुझ्ने कोशिस गर्नुस् देवानी । देखे जत्ति निर्मम र क्रुर पनि छैन दुनियाँ । मान्छे पिच्छे फरक सोच र ब्यवहार भेटिन्छ । बिन्ती यसरी आफूलाई नीच नसोच्नू ।

तपार्इँको कुरा केवल बालुवामा पानी खन्याए सरह हो । अभाव र सहारा बिनाको जीवन बोकेर पलपल टुक्रिएर, तड्पिएर बाँच्न चाहन्न । कस्सम बाबु , कस्सम , म मर्छु । त्यो अबोध छोरीलाई तपाईँले.ं….. ”

देवानी यस्तै अरू केही बोल्दै थिइन् । टुक्रिएको मन आफ्नो पनि थियो । उस्तै विभत्स र कारूणिक पनि । आदर्श र व्यवहार भनेका फरक कुरा नै हुन् आखिर । रिजनले आफूलाई थाप्न सकेन । देवानीलाई तान्दै टाउको आफ्नो छातीमा अड्याएर भन्यो ,
“ देवानी तिमीलाई यो बिक्षिप्त हालतमा कसरी राख्नु १ एक अवला नारीको पीडा मेरो पनि पीडा हो । तिमी नरोऊ
तिमीलाई साथ दिने म छु । रियाले बालेर छाडेको आगो तिम्रो साथले निभाउन चाहन्छु । तिमी बाचा गर , हामी एक भएर बाँच्ने छौँ । छोरीको भविष्य उज्यालो पार्नेछौँ । हामी भोलि नै बुटवल छाड्नेछौँ र अन्यत्र कहिँ टाढा पुगेर नयाँ जीवनको आरम्भ गर्नेछौँ ।“

रिजनको कुराले देवानीको मनमा एक किसिमको आशा र खुशीको सञ्चार भो मन हलुका भएको महसुस भो । उसले चुपचाप हेरिरहेकी थियी । न कुनै स्वीकृति । न कुनै अस्वीकृति । सारा पीडा र कष्टहरू नजिकैको तिनाउले बगाए जस्तै । पारी पारी सडक छेउँमा बलेका बत्तीहरू । देवानीकै खुशीमा दिपावली गरे जस्तै ।

रात परिसकेथ्यो देवानीले संगै बसौँ भनी तर रिजनले मानेन । भन्यो , “मलाई एक मिनेट यो ठाउँमा बस्ने मन छैन । बरू भोलि बिहानै बुटवल छाडौँ । फेरि फर्किने कहिले हो कहिले । मैले यता उता कारोबार मिलाउनु छ । झोला ठिक पार्नु पर्‍यो । घरबेटीलाइ कोठा नि बुझाउनु पर्‍यो । भोलिबाट हामी आजिवन संगै हुनेछौँ । तिमी अब निश्चिन्त हौ । आज तिम्रो मै खाना खाएर छुट्टिन्छु ।”
दुवैजना देवानीको घरमा गए । एउटा नया संसारको आरम्भ गरे झैँ दुवै जनाले संगै खाना खाए । अन्तिममा एउटा प्रणयमय लामो अँगालोमा बाँधिएर छुट्टिए ।

रात छिप्पिदै थियो । समय कतिसम्म गतिशिल रहेछ । अघि सम्म कल्पनामा नभएका कुरा अव वास्तविक हुँदै थियो । रियालाई अन्तिम बिदाई गर्दा रिजनले भनेथ्यो – “ रिया म तिम्रै हुनेछु । तिम्रो खुसी नै मेरो खुसी हो । तिमी परिवारकी एक्ली छोरी । फेरि मेरो बिहे गर्ने बेला पनि भएको छैन । तिमीलाई दुःख परे फर्केर आउनु । म अरु कसैको हुनेछैन ।“ आज सम्म केवल रियाकै तड्पाइमा बाँच्यो । एकाएक देवानी रिया बनेर आई आज । भोलिदेखि यौटै रथका दुई पांग्रा हुदैछन् । रिजनले कोठामा पुग्दै गर्दा एक मनले सोँचेको पनि थियो – कतै मैले गल्ती त गर्दै छैन ? फेरि आफैले भन्यो – स्वतन्त्रता, आत्म निर्णयको अधिकार र मनको खुशी भन्दा ठूलो कुरा केहि छैन संसारमा । परिवार, समाज र दुनिया त्यसपछीका कुरा हुन् । भन्नेले जे भन्लान् । म देवानी संग जोडिएर एउटा सुन्दर काम गर्नेछु । यो देश र समाजका लागि । उनको साथले नै मैले पक्कै केही गर्न सक्छु । आज नराम्रो गर्‍यो भनेर थुक्नेहरू भोलि राम्रो गर्न सके जयजयकार गर्नेछन् । यस्तै यस्तै सोँच्दै रिजन झोला मिलाएर सुत्यो ।

हरेक कुरा फरक फरक लागिरहेथ्यो आज । पाँच बर्षदेखि घर मानेर बस्दै आएको ठाउँ छाडेर जादै थिई । मनमा अनेक किसिमका तंगरहरू उठिरहेथे । दिब्या, रिजन र देवदास पालैपालो आईरहेथे आंखामा । झोला ठिक पार्दै थिई । भित्तामा झुन्डिएको देवदासको तस्बीर अचानक भुईमा खसेर झर्‍यामझुरुम्मै भो । देवानीको मन थरर काँप्यो । एक किसिमको भय थपियो मनमा । उसलाई झन संदेह भो – कि मैले गलत त गर्दै छैन ? खोइ के निर्णयमा पुगी अचानक । हातमा कापी कलम लिएर – मसी र आँसु सँगसँगै पोखी कागजमा आफूलाई ।

आँखा बिहानै खुले । भर्खर पानी परेर बन्द भएथ्यो । रिजनलाई कति बेला देवानीकोमा पुगौँ भइरहेथ्यो । एकातिर नयाँ संसारको सुरुवात हुँदै थियो । अर्कोतिर लामो समयदेखि बसेको सहर अचानक गन्तब्य बिहिन तरिकाले छाड्दै थियो । मनमा कतै खुसी । कतै पीडा पनि । घरमा अन्तिम पाइला टेक्दै पूर्वतिर हेर्‍यो । ईश्वरको नाम पुकार्दै अघि बढ्यो ।
सडक सुनसान थियो । देवानीको घर अँध्यारै थियो । ढोका पनि बन्द थियो ।
देवानी , देवानी, म आईपुगेँ । अझै नउठेको ?
ढोका खोल । उसले ढोका ठकढकायो ।

केही बेर ढोका मै कुर्‍यो तर ढोका खुलेन । उ अलमलमा पर्‍यो । ढोका जोडले धकेल्यो । कसो कसो खुल्न पुग्यो । अचम्म मान्यो । ढोका बलियो रहेनछ । धन्न आजसम्म त्यस्तो केही नराम्रो भएनछ ।
उसले ढोकामै यौटा कागज देख्यो । उठाउँ कि नउठाउँ भो ।
देवानी, देवानी,
उसकै आवाज फर्किएर आयो तर कोहि बोलेन । मनमा एक किसिमको डर पैदा भो । हतारिँदै कागज टिप्यो र सडकलाइटबाट छिरेको उज्यालोमा हेर्न खोज्यो ,

रिजन ,
आखिर मैले हारेँ । हार्नु र जित्नुको कुनै मूल्य रहेन मेरा लागि । जिन्दगीको यात्रा कहाँबाट सुरु भएर कहाँ पुगेर टुंगिने पत्तो नहुने । अब लेख्न बाँकी त केही थिएन । तैपनि छोरीको मायाले केही कुरा लेख्दैछु । भाग्यले लेखेको कुरा हामीले चाहेर नमेटिने रहेछ । एक पटक गल्ती गरेर भुमरीमा परेकी म फेरि गल्ती कसरी दोहोर्‍याउन सकुँ ? हिँजो आवेगमा आएर तपाईं सँग जुन सपना देखेँ । जुन मेरो आफ्नै धर्म विरुद्धको भूल थियो । उमेरले पनि आठ बर्षले कान्छो भाई सरहको मान्छे । तपाईं एक अविवाहित कुमार, म विवाहित विधवा नारी । यौटी बाह्र बर्षकी छोरी भएकी नारीसंग बिवाह गर्दा यो समाजले के भन्ला ? म कलङ्कको नजिर कसरी बनुँ ? हामी भागेर कहीँ गएर यो दुनियाबाट त छुपाउँला मलाई । तर आफैबाट म भित्रको कालो कसरी लुकाउन सक्छु ? आफ्नो देह बेचेर जिवीका चलाएकी बेश्यासँग तपाई जोडिनु मुर्खता हो । तपाईँको सुन्दर जीवनमा दाग लगाउन चाहन्न । बिन्ती मेरो गल्तीलाई माफी दिनु । आफ्नो सुन्दर भविष्यको खोजीमा लाग्नु । काठमाण्डौ बानेश्वरमा कक्षा आठ मा पढ्दै गरेकी छोरीलाई सहारा दिनू । केही बर्षलाई पुग्ने खर्च उसकै बैंक खातामा जम्मा गरिदिएकी छु । उसलाई डोहोर्‍याएर भविष्य उज्यालो पारिदिनु होला । कुनै दुर्घटनामा परेर मामु मरी भनिदिनु होला । सम्झाउनु होला बुझाउनु होला उनलाई ।

मैले कुरा गरेकी छु तपाईको बारे । समझिनेछिन र चिन्ने छिन् पक्कै । सिरानीमा फोटो र फोन नम्बर छ । बानेश्वर पुगेर फोन गर्नुहोला आफै आउनेछिन् भेट्न । अन्तिम चोटी भेट्दा खुब रोएकी थिईन् मसंग, मामु मलाई नछाड्नु, म हजुर संगै जान्छु भनेर । महिना दिनमै फर्केर लिन आउँछु नानु भनेकी थिएँ । तर त्यही भेट नै अन्तिम भेट बन्यो र तपाईसँग पनि । म केवल एउटै कुरा चाहन्छु रिजन , दिब्याले मेरो विवशताको कालो कर्म कहिल्यै थाहा नपाउन् । कहिल्यै पनि म बेश्याकी छोरी हुँ भनेर शीर झुकाउने दिन नआओस् । छोरीको भविष्य सुन्दर पारेर हेर्ने रहर हुँदा हुँदै पनि पाइन मैले । अभागी रहेछु । यही सम्मको रहेछ यात्रा । जानु त आखिर छँदै थियो । अरु केही वर्ष बाँचौँला भन्ने थियो । आज आएर आफैसंग घृणा जाग्यो । यस्तो बिभत्स जीवन कसरी बाँच्नु ? नदीमा उठेको पानीको फोका थियो । फुट्यो भन्ने सम्झनू । दिब्याको सपना पुरा गर्दिनु । त्यही नै हो मेरो सपना र देवदासको पनि । सपनाकै खातिर आजसम्म बाँचे । तर जिन्दगीको भुलचुकले माफी गरेन आफैलाई । त्यसैले अन्तिम स्वास फेर्दैछु ।
तपाईँको स्वर्णिम अँगालोको कल्पनामा हराउँदै । यो जुनीलाई बिदा ।।

उही देवानी

पूर्वमा लाली फैलँदै थियो । उज्यालो बिस्तारै बढ्दै थियो । ढोकाको भित्र पट्टी कोठमा केही उज्यालो पोखियो । एउटा मधुरो दृश्य देखियो । कोही सुतिरहेथ्यो पलङमा । कहिल्यै नब्युझिने गरी ।

शेखर विकल्प ,बलेटक्सार – गुल्मी

सम्बन्धित् समाचार