कपिलवस्तु । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कपिलवस्तुका अध्यक्ष मोहित मिश्राले निजी विद्यालयका शिक्षकलाई सरकारले राहत दिनुपर्ने बताएका छन् ।
निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विगत ४/५ महिनादेखि कुनै तलब तथा सुविधा नपाएको, केही विद्यालयहरुले शिक्षक कर्मचारीहरुलाई निष्कासन गरेको, राज्य तथा सरोकारवालाहरुले यस तर्फ कुनै चासो नदेखाएको साथै बिना पारिश्रमिक भोकभोकै मर्ने अवस्थामा आइपुग्दा पनि कुनै पनि निकायले आवश्यक चासो नदेखाएकोले सरकारले नै निजी विद्यालयका शिक्षकलाई सरकारले राहत दिनुपर्ने उनले बताए ।
संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कपिलवस्तुको सोमबार सम्पन्न भेलामा आफ्नो हक, अधिकार, पेशाको सुनिश्चितता तथा लकडाउनको समयको तलबका लागि सम्पूर्ण निजी विद्यालयमा कार्यरत शिक्षक एकताबद्ध हुनुपर्नेमा उहाँको जोड थियो । त्यसैगरी लकडाउनको समयमा आफूहरूले घरमा बसेर पनि वैकल्पिक माध्यमले शिक्षा प्रदान गरिरहेकाले सेवा सुविधा पाउनुपर्ने उहाँको धारणा थियो । सरकारले अाफूहरुलाई समयमै कुनै राहतको घोषणा नगरे अान्दोलनमा उत्रन बाध्य हुने इस्टु कपिलवस्तुका सचिव रामप्रसाद अधिकारीले बताउनुभयो ।








