काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरस (कोभिड १९) संक्रमण कम भएका जिल्लाका विद्यालय सुचारु गर्ने प्रस्ताव सिसिएमसीमा लाने तयारी गरेका छन्। ‘असार १ गतेदेखि सुरु भएको वैकल्पिक माध्यमबाट सिकाइ कार्यक्रम कार्यान्वयनको अवस्था’ विषयक समीक्षा बैठकमा बिहीबार मन्त्री पोखरेलले सो प्रस्ताव लैजाने तयारी गरेको जनाएका हुन्।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बैठकमा सहसचिवहरूले स्थानीय तहले कोरोना संक्रमण नभएका जिल्लामा विद्यालय सञ्चालन गर्नुपर्ने रिपोर्ट दिएको जनाए। ‘हिमाली जिल्लाहरू कोरोना शून्य रहेकाले स्थानीय तहले आ–आफ्ना क्षेत्रका विद्यालय सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छलफलमा सहसचिवले राख्नुभएको थियो,’ स्वकीय सचिव केसीले भने।
मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा गठित समितिले विद्यालय सञ्चालन गर्नेसहितका सुझावलाई समेटी नयाँ प्रस्ताव बनाउनेछ। उक्त प्रस्ताव मन्त्रालयले सिसिएमसीमा लानेछ। मन्त्री पोखरेलले उक्त निर्देशिका कार्यान्वयनबारे रिपोर्ट लिन सातै प्रदेशमा सहसचिवलाई जिम्मेवारी तोकेका थिए।