गृहपृष्ठ खबर नेपालमा एक महिनामा विदेशबाट १६७ जनाको शव ल्याइयो, अलपत्र २७ हजार ५३२ स्वदेश फर्के

नेपालमा एक महिनामा विदेशबाट १६७ जनाको शव ल्याइयो, अलपत्र २७ हजार ५३२ स्वदेश फर्के

लकडाउनपछि सरकारले सुरु गरेको अलपत्र परेका नेपालीको उद्धार गर्ने क्रममा जेठ २८ देखि असार २८ सम्मको अवधिमा भएका चार्टर उडानबाट १ सय ६७ वटा नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

छाउनीस्थित कोभिड–१९ सञ्चालन व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार यो एक महिनाको अवधिमा विदेशबाट नेपाली नागरिक फर्काउने क्रममा श्रम गन्तव्यबाट १ सय ६७ वटा शव पनि नेपाल ल्याइएको हो ।

यो अवधिमा २५ वटा मुलुकबाट करिब एक दर्जन वायुसेवाले १ सय ७५ वटा चार्टर उडान भएका थिए । ती चार्टर उडानले ८ वटा मध्यपूर्वी मुलुकबाट १ सय ६७ वटा नेपाली नागरिकहरुको शव ल्याएका थिए । यस अवधिमा साउदी अरबियाबाट ५९, मलेसियाबाट ४१, कतारबाट ४१, यूएईबाट १०, बहराइनबाट ६, कुवेतबाट ८, माल्दिभ्सबाट १ र ओमनबाट १ गरी १ सय ६७ वटा शव ल्याइएको हो ।

सीसीएमसीका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार अझै कतिपय श्रम मुलुकबाट शव ल्याउन बाँकी नै छ । उनले कोभिड–१९ बाहेक अन्य विभिन्‍न कारणले विदेशमा मृत्यु भएका नेपाली नागरिकहरुको शव यो अवधिमा नेपाल ल्याइएको बताए ।

यो अवधिमा विभिन्‍न मुलुकमा अलपत्र परेका २७ हजार ५ सय ३२ नेपाली नागरिक नेपाल फर्केका छन् । जसमा प्रदेश १ का ५ हजार ६ सय ५५, प्रदेश २ का ४४ सय ८०, वाग्मती प्रदेशका ८ हजार ३९,गण्डकीका ३५ सय १८, प्रदेश ५ का ४५ सय ४९, कर्णालीका ६ सय १६ र सुदूरपश्चिम प्रदेशका ६ सय ७५ जना स्वदेश फर्किएका हुन् ।

सम्बन्धित् समाचार