गृहपृष्ठ खबर ‘कुनै हालतमा राजिनामा दिन्न, सकेको गर्नुस्’ : प्रधानमन्त्री ओली

‘कुनै हालतमा राजिनामा दिन्न, सकेको गर्नुस्’ : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट गर्दै सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौति दिनुभएको छ ।

ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आउनु भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौति दिनुभएको हो । विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार आएका दाहाल र नेपाललाई उहाँले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिनुभएको स्रोतले जानकारी दियो ।

स्थायी कमिटी लगातार स्थगित गरेर समाधान खोज्न भनेपनि दुई अध्यक्षको संवादबाट हल ननिस्केपछि बिहीबार छलफलमा माधव नेपाल पनि थपिनु भएको थियो । बैठकमा दाहाल र नेपालले प्रष्ट शब्दमा पुरानै माग राख्दै अब ओलीको राजिनामा बाहेक अरु विषयबाट समाधान ननिस्कने भएकाले पद त्याग्न भन्नुभएको थियो । ओलीले छोप्नै नसक्ने गरी राजनीतिक र कूटनीतिक कमजोरी गरेकाले अर्को बाटो नरहेको उहाँहरुको जिकिर थियो ।

बिहीबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागि हुनुहुन्थ्यो । छलफलबाट निष्कर्ष ननिस्के पनि शुक्रबारको स्थायी कमिटी बैठक बोलाउन भने सहमति बनेको छ । लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि पार्टी नेताहरुलाई प्रयोग गरेर भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति रुष्ट नेकपाका शीर्ष नेताहरु पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने एक सूत्रीय अभियानमा उभिएका छन् ।

झन् पछिल्लो पटक अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि ओलीको देशभित्र र बाहिर पनि आलोचना चुलिएको छ । यस्तोमा नेकपाका नेताहरु ओलीविरुद्ध एक ठाउँमा उभिएका हुन् ।

नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावललगायतले त अयोध्याकाण्डमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएर सार्वजनिक अभिव्यक्ति दिइसक्नु भएको छ ।

 

सम्बन्धित् समाचार