साउन १, २०७७ पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा यतिबेला शोकमा डुबेको छ। असार ३० गते मंगलबार बिहान पहिरोले पुरिएर तीन जनाको ज्यान गएको थियो। एक जना अझै पनि बेपत्ता छन्। दुइ जना घाइते छन्। मृतक तीन जनाको बुधबार (हिजो) दाहासंस्कार गरिएको छ। गाउँ नजिकै रहेको कालीगण्डकी नदी अन्तर्गत अरूवाको गौरी घाटमा दाहसंस्कार गरिएको हो। एउटै चिहानमा तीन वटा चिता बनाएर दाहसंस्कार गरिएको छ।
कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेका ७० वर्षीय इमानसिंह राना, ६० वर्षीय गिमानसिंह राना र ४६ वर्षीय टीका थापाको पहिरोमा पुरिएर मृत्यु भएको थियो। उनीहरूको अन्तिम संस्कारमा सहभागी सबै भावविह्वल भएका थिए। शव यात्रामा सहभागीहरूको रुवाबासी चलेको थियो। स्वर्गीय इमानसिंह गाविस पूर्वअध्यक्ष हुन्। उनी २०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष पदमा निर्वाचित भएका थिए। गिमानसिंह भूतपूर्व भारतीय क्याप्टेन हुन्। भने टीका थापा नेपाल आर्मीबाट निवृत्त भएका थिए। बेपत्ता प्रेम पाण्डे स्थानीय खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष हुन्। ४ जना सामाजिक व्यक्तित्व गुमाउनु पर्दा सिंगो गाउँ नै शोकमग्न भएको छिमेकी डिल्लीराज पाण्डेले बताए।
इमानसिंह गाविस अध्यक्ष रहँदा पाण्डे उपाध्यक्षमा निर्वाचित भएका थिए। पाण्डेको बुझाइमा इमानसिंह इमान्दार, सरल स्वभाव, शालिन, भद्र र विकासप्रेमी नेता हुन्। ‘इमानसिंहको समन्वयमा नै बिर्घामा पहिलो पटक मोटर बाटो र बिजुली आएको हो’, पाण्डेले भने, ‘सामाजिक कार्यमा खटिँदै गर्दा उहाँको पहिरोले पुरिएर मृत्यु भयो।’ आज उहाँसहित अन्य सक्रिय समाजसेवी चार जना एकै पटक गुमाउनुपर्दा निकै दुःख लागेको उनी बताउँछन्।’ बिर्घाको विकासमा उहाँहरूको निधनले ठूलो असर पारेको पाण्डेले बताए। कुनै व्यक्तिगत स्वार्थ नहेरी सामाजिक काम गर्ने इमानसिंहसहित ४ जना अभिभावकको मृत्युले आफूलाई मर्माहत तुल्याएको छिमेकी तथा बिर्घा स्वास्थ्य चौकीका प्रमुख राजकुमार थापाले बताए।








