कपिलवस्तुको वाणगंगा नगरपालिकाको न्यायिक समितिमा १ वर्षमा जम्मा १६ वटा मात्रै मुद्दा दर्ता भएका छन । यसरि हेर्दा कपिलवस्तुका सबै स्थानिय तह मध्य बाणगंगामा सबैभन्दा कम मात्रामा मुद्दा दर्ता भएको न्यायिक समिति बाणगंगाले जनाएको छ ।
वाणगंगा नगरपालिकाको न्यायिक समितिबाट १ वर्षमा ८ वटा मुद्दा फर्छौट भएका छन् । २०७६।०७७ मा १६ वटा मुद्दा दर्ता भएअनुसार ८ वटा मात्र फर्छौट भएका छन् भने ८ वटा फर्छौट हुन बाँकी रहेका छन् ।
नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु मध्ये घरजग्गा तथा सम्पति सम्बन्धी ७ वटा मुद्दा मध्य ५ वटा, घरेलु हिंसा सम्बन्धी ३ वटा मुद्दा मध्य १ वटा, बिवाह दर्ता सम्बन्धी १ वटा, बिबाह दर्ता नगरीदिएको १ वटा मुद्दा फर्छौट भएका छन् । यस्तै घरजग्गा तथा सम्पति सम्बन्धी २ वटा, घरेलु हिंसा सम्बन्धी १ वटा, साध सिमाना सम्बन्धी १ वटा, गर्भपतन सम्बन्धी १ वटा, बहुबिवाह सम्बन्धी २ मध्य २ वटै, इज्जत अनुसार खान बस्न नदिएको भन्ने १ वटा मुद्दा फर्छौट हुन बाँकि रहेको सचिवालयले जनाएको छ ।
यसरि फर्छौट नभएका मुद्दाहरु आवश्यक प्रमाण हरु अपुग भएका कारण बाँकि रहेको समितिका संयोजक तथा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताएका छन् । २०७६ साल साउन ४ गते देखि चैत्र ४ गतेसम्म दर्ता भएका मुद्दाहरु न्यायिक समितिले केही मेलमिलापबाटै समाधान समेत गरेको छ केही मुद्दा प्रक्रियाबाट नै समाधान भएको समितिका संयोजक अर्यालको भनाई छ । सर्वसाधरणमा न्यायिक समिति प्रति विश्वास बढेकाले अदालत नगई नगरपालिकाको न्यायिक समिति बाटै प्राय मुद्दाहरु हल हुने संयोजक अर्याले जिकीर गरे ।
वाणगंगा नगरपालिका अन्तर्गत वडा नं १ का ३ वटा, वडा नं ३ को ३ वटा, वडा नं ४ को १ वटा, वडा नं १ को १ वटा, वडा नं ६ को १ वटा, वडा नं १० बाट ४ वटा, वडा नं ११ बाट ३ वटा मुद्दा दर्ता भएको न्यायिक समितिले जनाएको छ । बाँकी रहेका मुद्दाहरु छिटै फर्छौट हुने समितिले जनाएको छ ।