गृहपृष्ठ खबर प्याब्सन र एन प्याब्सन सैनामैनाद्धारा नगरपालिकालाई संयुक्त ध्यानाकर्षण पत्र, अनलाइन कक्षाहरु बन्द

प्याब्सन र एन प्याब्सन सैनामैनाद्धारा नगरपालिकालाई संयुक्त ध्यानाकर्षण पत्र, अनलाइन कक्षाहरु बन्द

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल  (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन– प्याब्सन) सैनामैनाले संयुक्त रुपमा सैनामैना नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

शुक्रबार प्याब्सन सैनामैनाका अध्यक्ष भोजराज पौड्याल र एन– प्याब्सन सैनामैनाका अध्यक्षद्धारा हस्ताक्षरित पत्रमा पालिका भित्र संचालित नीजि विद्यालयमा शिक्षण सिकाइका वैकल्पिक विधिहरु  (अनलाइन कक्षा) अर्को सुचना प्राप्त नभए सम्म बन्द गर्ने निर्णय सँगै नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई ८ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पत्रमा विद्यालय संचालनका लागि कोभिड १९ का कारण तहस नहस भएको विद्यार्थीहरुको पठन पाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखिकरण गरी पाठ्य पुस्तक लगायत शिक्षण साम्रगीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र गरियोस् भनि उल्लेख गरिएको छ ।

इन्टरनेटको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यथार्थलाई मनन गर्दै विद्यालयहरुमा आवश्यक पुर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरी विद्यार्थीहरुको पठन पाठन गर्ने व्यवस्था गरियोस् । ध्यानाकर्षण पत्रमा भनिएको छ,–‘ वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷१९२ दिन पठन पाठन गनुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ लागि केही सार्वजनिक विदाहरु जाडो विदा लगायत अन्य विदा कटौति गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस् । ’

त्यस्तै पत्रमा शैक्षिक सत्र २०७७ मा विद्यालयहरु शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताका आधारमा एक महिनाको मासिक पढाइ शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था, विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलब भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुँदा शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरियोस् भनि उल्लेख गरिएको छ ।

घर जग्गा बहाल कर व्यवसायीक कर लगायत अन्य महसुलहरुमा छुटको व्यवस्था सँगै प्रत्येक सामुदायिक एवम् संस्थागत विद्यालयले स्थानान्तरण प्रमाण पत्र बिना भर्ना नगर्न नगराउन कडाइका साथ निर्देशन गर्नु हुन समेत माग गरिएको छ ।

ध्यानकर्षण पत्र बुझ्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले कोभिड १९ का कारण नीजि शैक्षिक क्षेत्रले झेल्नु परेका समस्या प्रति नगरपालिका संवेदनसील रहेको बताउनुभयो । संयुक्त संगठनको मागहरु प्रति नगरपालिका सकारात्मक भएको बताउँदै नगरप्रमुख कार्कीले यथाशिघ्र समाधानका विकल्पहरु खोजिने प्रतिक्रिया दिनुभयो ।

संयुक्त ध्यानाकर्षण पत्रमा उल्लेखित माग सम्बोधन नभए संस्थागत विद्यालय कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । प्याब्सन प्रदेश ५ सदस्य कृष्ण शर्मा, प्याब्सन जिल्ला बरिष्ठ उपाध्यक्ष अन्नतराम शर्मा, एन प्याब्सन जिल्ला सल्लाहकार तिलब के।सी, प्याव्सन सैनामैना सचिव धर्मराज घिमीरे, टोपलाल भट्टराई लगायतले नगरमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

निजी तथा आवासीय विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकालेर बिहीबारदेखि सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर अर्को सुचना प्राप्त नभए सम्म विद्याालय बन्द गर्ने निर्देशन अनुसार सैनामैनाका नीजि विद्यालयहहरुका सबै गतिविधि बन्द हुने जनाइएको हो ।

सम्बन्धित् समाचार