४ साउन,पर्सा । पर्साको ठोरीस्थित सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमामा अवस्थित ४३६ नम्बरको सीमा स्तम्भ पाँच घण्टापछि पुनः सोही स्थानमै गाडिएको छ ।
दुवै देशका स्थानीय स्तरका सीमा सुरक्षा अधिकारी र ठोरी गाउँपालिकाका अध्यक्षको रोहबरमा शनिबार राति ९ बजे पहिलेकै स्थानमा पिलर गाडिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले बताए ।

‘नरकटियागंजस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीका सेकेन्ड इन कमान्डेड अनिल सिंह नेतृत्वको टोली सीमा स्तम्भ उखेलिएको ठाउँमा आएको थियो । उहाँले पहिलेकै स्थान र डिरेक्सनमा पिलर गाडेर समस्या समाधान गरौं भन्ने प्रस्ताव राख्नुभयो,’ प्रहरी निरीक्षक दाहालले भने, ‘मैले पनि जिल्लामा समन्वय गरें । जिल्लाबाट स्थानीय जनप्रतिनिधिलाई समेत राखेर विवाद समाधान हुन्छ भने पहिलैकै स्थानमा पिलर गाड्न निर्देशन पाएँ । सोही अनुसार शनिबार राति ९ बजे नै यथास्थानमा पिलर गाड्ने काम भएको छ ।’
प्रहरी निरीक्षक दाहालका अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साह, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ तथा भारतका तर्फबाट एसएसबीका सेकेन्ड इन कमाण्डेड सिंह र भिखना ठोरीस्थित एसएसबीका इन्सपेक्टर प्रमित जैसवालको रोहबरमा उखेलिएको पिलर यथास्थानमै गाडिएको हो ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार दुवै देशका स्थानीयस्तरका सीमा सुरक्षा अधिकारीहरुको रोहबरमा पहिलेकै स्थान र सोही दिशामा पिलर गाडिएको छ ।
सीमा स्तम्भ उखेलिएको थाहा पाएपछि ठूलो संख्यामा भेला भएका ठोरीका बासिन्दाले सीमा स्तम्भ पहिलेकै ठाउँमा गाड्न दबाव दिएका थिए ।
सीता गुफा नजिकै रहेको नेपाल–भारत सीमामा अवस्थित सीमा स्तम्भ उखेलिएको बारेमा सशस्त्र प्रहरीले शनिबार दिउँसो चार बजेतिर थाहा पाएको थियो ।
प्रहरी निरीक्षक दाहालले भने, ‘शनिबार चार बजेतिर सीमा स्तम्भ नरहेको जानकारी पाएँ । सीमा स्तम्भ नजिकै रहेको सीता गुफामा बिहानैदेखि पूजापाठ भएको थियो । मध्यान्हसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । मलाई लाग्छ दिउँसो २ देखि ४ बजेको बीचमा सीमा स्तम्भ उखेलिएको हुनुपर्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एकाएक चर्चामा आएको थियो ।








