१. विद्यालय बन्द भएको चार महिना हुन लागे पनि शैक्षिक सत्र बन्द भएको ३ महिना नाघेको छ । अब पनि विद्यालय नखुले युनेस्कोले गरेको अनुसन्धानअनुसार विद्यालय छोड्ने दरमा वृद्धि हुन्छ र शैक्षिक क्षति बढ्न जान्छ ।
२. खासगरी सार्वजनिक विद्यालयमा पढ्ने र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरू कि कामको खोजीमा भौतारिन्छन् कि कलिलै उमेरमा विवाह गर्ने तिर भड्कन्छन् भन्ने अफ्रिकाको एउटा अनुसन्धानले बताएको छ ।
३. कोविडले विद्यालय स्तरका बालबालिकामा अन्य क्षेत्रको तुलनमा आधा वा तीन चौथाइ मात्र असर पुगेको र अझ प्राथमिक तहमा त त्यसको प्रभाव प्रायः शून्य रहन्छ भन्ने तथ्य यसै हप्ता अमेरिकामा प्रकाशित यौटा लेखले उजागर गरेको छ ।
४. स्विडेनमा विद्यालय बन्द भएनन् तर विद्यार्थीमा कोरोनाको कुनै त्रास वा लक्षण हालसम्म देखापरेको छैन । त्यहाँ नियमित रूपमै विद्यालय सञ्चालनमा छन् ।
५. जहाँसम्म भौतिक दूरीको सवाल छ विद्यालयभित्र त्यसको जोखिम कम हुने भएकाले विद्यालयलाई भौतिक दूरी कायम गर्ने सर्तनामामा कबुल गराई विद्यालय संचालन गर्न अब ढिलो गर्नु हुँदैन ।
६. स्थानीय सरकार र स्थानीय स्वास्थ्य संस्थाको निगरानीमा स्वास्थ्य मन्त्रालयले तयार पारेको वा पार्ने मापदण्ड पुग्ने गरी स्यानिटाइजर, मास्क र हात धुने व्यवस्था विद्यालय र अभिभावक मिलेर गर्ने गरी तत्काल विद्यालय संचालन गर्न सकिन्छ ।
७. एक सयजना भन्दा कम विद्यार्थी रहेका विद्यालयमा खासै समस्या पर्ने देखिदैन । जहाँ पहिलेको जस्तै गरी विद्यालय संचालन गर्न ढिला भइसकेको छ ।
८. धेरै विद्यार्थी संख्या भएका विद्यालयमा भने पालोपालो गरेर हप्तामा प्रत्येकले २ वा ३ दिन विद्यालय जाने गरी प्रत्येक विद्यालयलाई तालिका बनाउन लगाउने र सो तालिका स्थानीय सरकारको स्वीकृतिमा विद्यालय संचालन गर्न अब ढिलो गर्नु हुँदैन ।
९. विद्यार्थीको शैक्षिक सत्र अलि ढिलो हुँदा फरक नपर्ला तर ऊनीहरुको मनोबैज्ञानिक पक्ष त्रासदीपूर्ण हुन गए त्यसको क्षतिपूर्ति सम्भव छैन । त्यसैले ऊनीहरुलाई व्यस्त राख्न पनि विद्यालय खोल्नुपर्छ ।
१०. ईजरायलले जस्तो कोभिडको ईन्जेक्सन नआएसम्म विद्यालय बन्द गर्ने वा अमेरिकाको केही राज्यले २०२० को यो सेसनमा पठनपाठन नै नगर्ने भन्ने अतिवादले पनि विद्यार्थीकै भविष्य खेलवाड गर्ने देखिन्छ । त्यसैले विद्यालयलाई नै जिम्मेवार बनाउने, स्थानीय सरकारले समन्वय गर्ने, अभिभावकलाई सम्झाउने र विद्यालय सञ्चालनमा ल्याउन गर्नुपर्ने सबै कार्य साउन महिनाभित्रै पूरा गरी भदौ १ बाट सतर्कताका साथ विद्यालयहरु खोलिउन् ।
मीनभवन, काठमाडौं, कान्तिपुरबाट