गृहपृष्ठ Featured यस्ता व्यवसाय सुरु गर्दा अब तिन प्रतिशत मात्रै ब्याज, सुरु गर्नुहोस् यी व्यवसाय

यस्ता व्यवसाय सुरु गर्दा अब तिन प्रतिशत मात्रै ब्याज, सुरु गर्नुहोस् यी व्यवसाय

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कर्जा वितरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले पाँच प्रकारका पुनर्कर्जाको सूची सार्वजनिक गरेको छ । जसअनुसार ऋणीले न्यूनतम तीन प्रतिशतदेखि अधिकतम सात प्रतिशतसम्म ब्याज तिरेर ऋण पाउन सक्नेछन् ।

पुनर्कर्जामार्फत दिइने ऋण र ब्याज सम्बन्धमा राष्ट्र बैंकले गरेको व्यवस्था

साधारण पुनरकर्जा

जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्नेछ ।

पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न र स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

साधारण पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट सात प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

विशेष पुनर्कर्जा

नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

अस्ट्रिच पालन, अलैँची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
विशेष पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

निर्यात पुनर्कर्जा

निर्यात व्यवसायी फर्मरकम्पनीलाई निर्यातसम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवर्द्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक एक प्रतिशत दरमा निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

निर्यात पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाइने छैन ।

निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार दिनभित्र पुनर्कर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।

निर्यात पुनर्कर्जाको हकमा

भइ उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जामध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

साना तथा मझौला उद्यममा पुनर्कर्जा

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक दुई प्रतिशत ब्याजदरमा पुनर्क‍र्जा सुविधा उपलब्ध गराइने छ ।

यस्तो पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट पाँच प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

यसको अतिरिक्त राष्ट्र बैंकले आगलागी एवम् बाढी तथा डुबानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निर्माण र व्यवसाय फेरि सञ्चालन गर्न पनि पुनर्कर्जा प्रदान गर्ने भएको छ ।

सम्बन्धित् समाचार