गृहपृष्ठ खबर लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम, ३१५ संक्रमित अझै अस्पतालमा

लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम, ३१५ संक्रमित अझै अस्पतालमा

लकडाउन खुलेसँगै प्रदेश ५ मा कोरोना संक्रमण पुनः फैलिने जोखिम बढेको छ । चार महिना लामो लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेका छन् । सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाप्रति लापरवाही बढ्न थालेको छ । भारतबाट प्रहरीको आँखा छलेर भारतीय कामदारहरु नेपाल आउने क्रम पनि रोकिएको छैन । ती भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ ।

चार दिनअघि बुटवलको एक सिरक– डसना उद्योगमा काम गर्न भारतबाट आएर होटेलमा बसेका तीनजना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखियो । उनीहरु बेलहिया नाका हुँदै बुटवल आएका थिए । यसले सीमा नाकामा सुरक्षाकर्मीले नेपाल प्रवेशमा कडाइ गरेका छैनन् भन्ने पुष्टि गरेको छ । भारतबाट नेपाल आउने नेपाली वा भारतीय नागरिकबाट संक्रमण फैलन नदिन सीमा नाकामा सञ्चालनमा ल्याइएका २२ वटा हेल्थ डेस्कहरु अहिले बन्द छन् ।

‘लकडाउन अन्त्य भएपछि जोसुकै मान्छेहरु जुनसुकै ठाउँबाट जहाँ पनि जान–आउन थाले,’ प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद गिरी भन्छन्, ‘करिब–करिब नियन्त्रणमा आइसकेको कोरोना लकडाउन खुलेपछि फेरि बढ्ने जोखिम देखेका छौं ।’

लकडाउन खुलेसँगै संक्रमण दर फेरि बढ्न थालेको र स्थिति फरक भएको डा. गिरीले बताए । कपिलवस्तुमा मंगलबार ८९ जनाको पीसीआर परीक्षण गर्दा शिवराज नगरपालिकामा मात्रै ३२ जनामा संक्रमण देखिनु र तीमध्ये केहीको ट्राभल हिस्ट्री नै नभएकाले समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिन थालेको हो कि भन्ने आशंका मन्त्रालयले गरेको डा. गिरीले बताए ।

१३ जनाको मृत्यु, ३१५ अस्पताल भर्ना

प्रदेश ५ मा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । २ जना आईसीयूमा रहेका सहित ३१५ जना कोरोना संक्रमितहरु अस्पतालमा उपचारत छन् । कुल संक्रमतिमध्ये ३ हजार ९०४ जना निको भएर घर फर्केका छन् । निको हुने दर ९२।२५ प्रतिशत छ ।

जिल्लागत रुपमा कपिलवस्तुमा ७९८, दाङमा ६६३, पाल्पामा ५५९, बांकेमा ४१३, गुल्मीमा ३६०, अर्घाखाँचीमा २३८, रुपन्देहीमा ३३५, प्युठानमा ३३५, बर्दियामा २३२, नवलपरासी पश्चिममा १२१, रोल्पामा ७३ र रुकुम पूर्वमा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेशभरि ५५ हजार १७८ जनाको स्वाब संकलन गरिएकोमा अब ९५२ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

साउन १३ गतेसम्मको तथ्यांकअनुसार ४ हजार २३२ जना संक्रमित रहेको प्रदेश ५ मा क्वारेन्टिनहरु रित्तिने क्रममा छन् । अब १२ जिल्लाका ११ सय ५० वटा क्वारेन्टिनमा २२ सय ३८ जना छन् । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल प्रदेशमा कोरोना संक्रमणको ‘सेकेण्ड वेभ’ आउन सक्ने र त्यो यसअघिको भन्दा घातक र खतरनाक हुने औंल्याउँछन् ।

हालसम्म संक्रमितमध्ये नगण्य मात्रामा लक्षण देखिएको छ तर, अब लक्षणसहित र मृत्युदर पनि बढी हुने मन्त्रालयले आकलन गरेको मन्त्री बरालले बताए ।

सम्बन्धित् समाचार