गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय प्रधानमन्त्री मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् ।

सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो । यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो । अदालतले मुस्लिक मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।

यससँगै भारतमा कोरोना भाइरस महामारीको बीचमा मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् । मोदीको पार्टी भारतीय जनता पार्टीका लागि राम मन्दिरको निर्माण महत्वपूर्ण प्रतिबद्धता थियो । हिन्दू राष्ट्रवादी मोदीले यसअघि राम मन्दिर निर्माणको वाचा गरेका थिए ।

अधिकारीहरुले राम मन्दिरको शिलान्यास समारोहको क्रममा कोरोना भाइरसबाट बच्नका लागि आवश्यक मापदण्ड पालना गरिएको बताएका छन् । तर, समारोहमा पुगेका मानिसहरुले मास्क लगाउने तथा भौतिक दुरीको नियम पालना नगरेको पाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।

अयोध्याको मुद्दा के हो ?

सन् १९९२ मा हिन्दूहरुले उक्त विवादित स्थानमा रहेको १६ औं शताब्दीको मस्जिद भत्काइदिएका थिए । जसको कारण शुरु भएको हिंसामा परी करिब दुई हजार मानिसको मृत्यु भएको थियो । हिन्दूहरुका अनुसार उक्त बाबरी मस्जिद राम मन्दिर भत्काइएपछि सोही स्थानमा बनाइएको थियो । उनीहरुका अनुसार मुस्लिमहरुले राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाएका थिए ।

मुस्लिमहरुका अनुसार सन् १९४९ मा केही हिन्दूहरुले मस्जिदमा रामको मूर्ति राखेर पूजा गर्न थालेका थिए । त्यसयता दुई धर्मका संगठनहरुले अदालतमा यो क्षेत्र आफ्नो रहेको दाबी गर्दै मुद्दा लड्दै आएका थिए ।

स्रोत : बीबीसी

सम्बन्धित् समाचार