फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसमा बनेको भ्याक्सिनको तारिफ गरेका छन्। रोयटर्सका अनुसार उनले रुसमा बनेको भ्याक्सिनको ट्रायल दिन आफू तयार भएको बताएका हुन्। रुसले आफूले बनाएको भ्याक्सिन फिलिपिन्सलाई दिन तयार रहेको बाचा गरेको छ।
रुसले यही महीना आफूले बनाएको भ्याक्सिनको नियामक निकायले स्वीकृति दिने विश्वास पनि गरेको छ। फिलिपिन्समै पनि रुसको जस्तै भ्याक्सिन उत्पादन गर्न सकिने छ। फिलिपिन्समा अहिले कोरोना संक्रमण बढिरहेको छ। त्यहाँ अहिलेसम्म संक्रमित एक लाख ३६ हजार ६ सय ३८ पुगेका छन्।
हिजो फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले टेलिभिजनमा भने, ‘‘म रुसी राष्ट्रपति पुटिनसँग भन्नेछु कि, कोभिड–१९ सँग लड्न रुसले गरेको शोधमा मेरो पूरा भरोसा छ। मलाई विश्वास छ, तपाईंको देशमा बन्न लागेको भ्याक्सिन मानवताको हितमा छ।’’ संसारभर यतिखेर भ्याक्सिन निर्माणको होड चलिरहेको छ। त्यसबारे चिन्ता पनि गरिएको छ। रुसमा अन्तिम तयारीमा रहेको भ्याक्सिनको सुरक्षा मामिलालाई लिएर विश्व स्वास्थ्य संगठनले आशंका जनाएको छ।
यस्तो अवस्थामा फिलिपिन्सका राष्ट्रपति स्वयंले रुसमा बन्ने भ्याक्सिनको प्रयोग आफूमा गर्न तयार रहेको बताएका छन्। उनले आज आफ्नो कार्यालयमा फिलिपिन्स रुसी भ्याक्सिनको पक्षमा खडा रहेको बताए। उनले ट्रायल, उत्पादन र आपूर्तिमा रुसलाई सहयोग गर्न आफू हरदम तयार रहेको पनि घोषणा गरे। (बीबीसी)