गृहपृष्ठ खबर पानीकाे व्यवस्थापन नहुँदा जुगलमा पहिराे गयाे : प्राधिकरण

पानीकाे व्यवस्थापन नहुँदा जुगलमा पहिराे गयाे : प्राधिकरण

प्रकाशित मिति:

काठमाडाैं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले बताएको छ । भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो बताएको हो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गएको बताउनुभयो । त्यस ठाउँमा भूकम्पपछि लगत्तै पहिरो गएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘प्राधिकरणको नेतृत्वमा त्यती बेला अध्ययन भएको थियो । अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो । त्यसपछि फेरि प्राधकिरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो । क्याटागोरी २ मा थियो । बस्ती नै सार्नुपर्ने भन्ने अवस्था थिएन ।’

पानीको उचित निकासका लागि स्थानीय सरकारले काम नै गर्न नसकेको उहाँले बताउनुभयो । ‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो । पानीको निकास भएको भए पहिरो जाने थिएन । पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गरेको भए पहिरो जाने थिएन,’ उहाँले भन्नुभयो । नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उहाँको भनाइ छ । लिदीमा पहिरोले ३७ घर ध्वस्त पारेको छ । ठूलो जनधनको क्षती समेत गरेको छ ।

भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्ला पहिरोको उच्च जोखिममा रहेका छन् । यस्तै ३१ जिल्ला पहिरोको जोखिममा छन् । प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १ सय ७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो ।

पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार