कोभिड-१९ को संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बुटवल १ की ६७ वर्षकी महिलाको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाको छ।
साउन ३१ गत कोभिड-१९ को संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ। उनलाई कोभिड-१९ विशेष अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
त्यस्तै रुपन्देहीकै समसरीमाई २ मुडुलाका ३८ वर्षका पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा दिउसो १: १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
लुम्विनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको धागो कारखानास्थित कोभिड विशेष अस्पतालमा १६ जना संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको थियो। जसमध्ये २ जना भेन्टिलेटरमा थिए। भेन्टिलेटरमा भएका दुबैको मृत्यु भएको हो।
अस्पतालमा अझै १४ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ। जसमध्ये थप ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।









