
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ पुगेको छ । गएको २४ घण्टामा नौ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार दुई सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा नौ सय २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार दुई सय ४५ पुगेको छ ।
अब नेपालमा १६ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै आठ हजार नौ सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै चार सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।







