कपिलवस्तु जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा कार्यरत शिक्षण सिकाई सहयोग अनुदान शिक्षकहरूले आफूहरूले पाउनुपर्ने तलव(अनुदान) नेपाल सरकारबाट प्राप्त हुने रकम निकासा नभएको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तु मार्फत समस्या समाधानका लागि शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मुलुकमा विद्यमान कोरोना महामारीको कारण जनाउदै गत असार महिनामै निकासा हुनुपर्ने आफुहरूको रकम हालसम्म पनि उपलब्ध नभएका कारण सरकार आफैले निजी क्षेत्रमा कर्मचारीलाई कोरोनाको कारण देखाएर सेवाबाट वञ्चित नगराउन निर्देशन दिईरहेका वेला आफुहरूको सेवा सुविधा उपलब्धता सम्वन्धि हालसम्म कुनै सुचना प्राप्त नभएकाले आफुहरूले ध्यानाकर्षण गराएको अनुदान शिक्षक समिति कपिलवस्तुका संयोजक रेशम खरालले बताए । पहिलो चरणमा देशैभरिका शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण बुझाउने कार्यक्रम भईरहेको छ । दोस्रो चरणमा प्रदेशमा ध्यानाकर्षण गराउने त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्र लाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको उनले बताए । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा विकास समन्वय ईकाई कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेलबासेले आफुहरू पनि सो विषयमा चिन्तित रहेको र सोका लागि आफुले सक्ने पहल गर्ने बताए ।

सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव कम गर्न २०७५ सालदेखि सरकारले माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयलाई शिक्षण सहयोग अनुदान भनी एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । सोही अनुदानमा देशैभरिका सामुदायिक विद्यालयहरूका करिव ६ हजारको हाराहारीमा शिक्षकहरू कार्यरत रहेका बताईएको छ । गत असार मसान्तभित्र निकासा हुनुपर्ने उक्त रकम हालसम्म पनि निकासा गरिएको छैन । सो सम्बन्धि आधिकारिक जानकारी समेत उपलब्ध गराईएको छैन । सरकारले निजि क्षेत्र लाई कोरोना महामारीको वेला कुनै पनि व्यक्तिलाई उनीहरू कार्यरत क्षेत्रबाट हटाउन नपाईने र उनीहरूले पाएआएको सेवासुविधाबाट समेत वञ्चित गराउन नपाईने भनी निर्देशन दिईरहेको छ । तर आफैले फेरि यस प्रकार शिक्षकहरूले पाउनुपर्ने रकम निकासीका लागि वेखबर जस्तै छ । यस प्रकारको कार्यले देशभरका आफुहरूजस्ता शिक्षकहरू पिडामा रहेका छन् । पहिलो चरणमा ध्यानाकर्षण मात्र गराईएको र सरकार शिक्षा संग चिन्तित नै होला भन्ने आफुहरूको विश्वास रहेको र यदि सो हुन नसकेमा आफुहरू जस्तोसुकै कडा संघर्ष गर्न पछि नपर्ने खरालले बताए ।










