कपिलवस्तु : हुलाकी राजमार्ग आयोजना अन्तर्गत निर्माण शुरु भएको सडक निर्माण कार्यमा सुधारको माग गर्दै सदरमुकाम तौलिहवाका नागरिक अगुवाहरुले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। नागरिक अनुगमन समितिको आयोजनामा नगरपालिकाको जमुवार पुल देखि छोटकी तौलिहवा सम्म निर्माण भई रहेको राजमार्ग अन्र्तगतको सडकको दुवै छेउको नाली निर्माण कार्य गैर जिम्मेवारी ढंगबाट अघि बढाईएको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरिएको हो।
नागरिक अनुगमन समितिका संयोजक राजु प्रसाद अर्यालको नेतृत्वमा नागरिक अगुवाहरु रवि ठाकुर, सुरज गुप्ता, जयसराम यादव लगायतको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई ध्यानआकर्षण पत्र बुझाएका हुन्। सर्पाकार ढंगमा भई रहेको नाली निर्माण कार्यले तौलिहवा बजार क्षेत्र कुरुप देखिने ज्ञापन पत्रमा उल्लेख गरिएको छ। अव्यवस्थित ढंगबाट बांङ्गो टिंङ्गो रुपमा निर्माण भई रहेको नाली निर्माण कार्य तत्काल रोकी सिधा लाईनमा नाली तथा सडक निर्माणका लागि आग्रह गरिएको नागरिक अनुगमन समितिका संयोजक राजु प्रसाद अर्यालले बताए।
हुलाकी सडक आयोजनाले पटक पटक सडकको केन्द्र विन्दु परिवर्तन गर्दा सडकमा घर पर्ने घर धनीहरुले पटक पटक घर भत्काउन परेको छ। केन्द्र विन्दुलाई पटक पटक परिवर्तन नगरी निश्चित केन्द्र विन्दु कायम गरी गुणस्तरीय निर्माण कार्य अघि बढाउन ध्यानआकर्षण पत्रमा आग्रह गरिएको छ। नागरिक अगुगमन समितिको तर्फबाट ध्यानआकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले यस सम्वन्धमा हुलाकी सडक आयोजनाका प्रमुखसंग सोधपुछ गर्ने बताए।
हुलाकी सडक आयोजना निर्देशनालयबाट गरिएको डिजाईन, सर्भे र ईस्टीमेटकै आधारमा निर्माण काम अघि बढेको आयोजनाका ईन्जिनियर विरेन्द्र प्रकाश गुप्ताले बताए। नागरिक स्तरबाट गुणस्तर नियन्त्रण र रेखदेख तथा चासो राख्नाले आयोजना प्रति आमनागरिकको अफनत्व पनि बढ्ने र निर्माण काम छिटो छरितो र गुणस्तरीय समेत हुनेमा आयोजना विश्वस्त रहेको ईन्जिनियर गुप्ताले बताए।