गृहपृष्ठ खबर मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का, यस्ता छन् नेकपा बैठकमा उठेका तीन विकल्प

मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का, यस्ता छन् नेकपा बैठकमा उठेका तीन विकल्प

ओली– ‘राम्रो काम गरेकालाई राखौं, बाँकी नयाँ थपौं’
दाहाल– ‘सबैलाई राजीनामा दिन लगाउँ, पुराना सिनियर र नयाँलाई पठाउँ’

काठमाडौँ : स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको बाटो खोलेपछि नेकपामा आइतबारेदेखि यसमा औपचारिक छलफल सुरु भएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर छलफल गरिएको छ । तर, कहिलेसम्म गर्ने भन्ने टुंगो लागेको छैन ।

बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको ठोस मापदण्ड तय नभए पनि विभिन्न विकल्पमा छलफल भने सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि उनले भने, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरुपमा सुझाव दिइएको छ । यक्तिका नामका सन्दर्भमा प्रवेश भएको छैन । आवश्यक परे प्रधानमन्त्रीसँग पछि नै छलफल हुन्छ ।’

सचिवालयका एक सदस्यका अनुसार बैठकमा मन्त्रिरिषद् पुगर्नठनबारे तीन विकल्पमा छलफल भएको छ । ती सदस्यले भने, ‘मन्त्रिपरिषद् पुर्नगठनबारे दुई–तीनवटा विकल्पमा छलफल भएको छ । सबै हटाउने सबै राख्ने एउटा विकल्प आएको छ । सबै नहटाउने तर दुई बर्ष पुगेकालाई हटाउने, पछि गएकालाई नहटाउने र अरु नयाँ राख्ने दोस्रो विकल्प । तेस्रो, त्यो नगरेर पुराना केही राम्रो काम गरेकालाई राख्ने र वाँकी थप्ने विकल्प माथि छलफल भएको छ ।’

उनका अनुसार पहिलो दुई वटा विकल्प भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो विकल्पमा जोड छ । हाल राम्रो काम गरेकालाई राख्ने र वाँकी नयाँ थप्ने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, सवै मन्त्री हटाउनुपर्नेपक्षमा भने कोही नेता थिएनन् । त्यसपछि नेताहरुले एउटै मापदण्ड बनाएर जाने विषयमा सहमति गरेका छन् । त्यस अगाडि थप छलफल गर्ने उनीहरुको योजना छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्रीलाई हटाएर नयाँ शिराबाट अगाडि बढ्न ठीक हुने बताएका थिए । ‘सबैलाई राजीनामा दिन लगाउँ । त्यसपछि पहिलाकै सिनियर, क्षमतावानलाई राख्ने र वाँकी नयाँलाई पठाउने ठीक हुन सक्छ । त्यसो गर्दा पुरै पुरानालाई हटाँएर नयाँ राख्ने भन्नेपनि भएन । मन्त्रिपरिषद् भनेजस्तो गरी पुनर्गठन पनि हुन्छ । नयाँमा पनि सिनियर, क्षमतावान र योग्यहरुलाई बनाउँ । त्यसले सरकारको काम पनि प्रभावकारी हुन्छ,’ दाहालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ।

पार्टीभित्र उत्पन्न अन्तरविरोधले गर्दा सरकारका काम प्रभावित भएको निश्कर्षसहित नेकपा आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न मन्त्रिपरिषद् पुर्नगठनको पक्षमा छ ।

मन्त्रिपरिषद् पुनगर्ठन गरेर सरकारको काम कोभिड–१९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणा पत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताहरुको कार्यान्वयन जस्ता महत्वपूर्ण बिषयहरुमा केन्द्रीत गर्ने नेकपाको तयारी छ ।

 

सम्बन्धित् समाचार