गृहपृष्ठ खबर मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का, यस्ता छन् नेकपा बैठकमा उठेका तीन विकल्प

मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का, यस्ता छन् नेकपा बैठकमा उठेका तीन विकल्प

प्रकाशित मिति:

ओली– ‘राम्रो काम गरेकालाई राखौं, बाँकी नयाँ थपौं’
दाहाल– ‘सबैलाई राजीनामा दिन लगाउँ, पुराना सिनियर र नयाँलाई पठाउँ’

काठमाडौँ : स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको बाटो खोलेपछि नेकपामा आइतबारेदेखि यसमा औपचारिक छलफल सुरु भएको छ । आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर छलफल गरिएको छ । तर, कहिलेसम्म गर्ने भन्ने टुंगो लागेको छैन ।

बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको ठोस मापदण्ड तय नभए पनि विभिन्न विकल्पमा छलफल भने सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि उनले भने, ‘स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय भएको छ । सचिवालयमा पुनर्गठनको मापदण्डका सम्बन्धमा विभिन्न कोणबाट नीतिगतरुपमा सुझाव दिइएको छ । यक्तिका नामका सन्दर्भमा प्रवेश भएको छैन । आवश्यक परे प्रधानमन्त्रीसँग पछि नै छलफल हुन्छ ।’

सचिवालयका एक सदस्यका अनुसार बैठकमा मन्त्रिरिषद् पुगर्नठनबारे तीन विकल्पमा छलफल भएको छ । ती सदस्यले भने, ‘मन्त्रिपरिषद् पुर्नगठनबारे दुई–तीनवटा विकल्पमा छलफल भएको छ । सबै हटाउने सबै राख्ने एउटा विकल्प आएको छ । सबै नहटाउने तर दुई बर्ष पुगेकालाई हटाउने, पछि गएकालाई नहटाउने र अरु नयाँ राख्ने दोस्रो विकल्प । तेस्रो, त्यो नगरेर पुराना केही राम्रो काम गरेकालाई राख्ने र वाँकी थप्ने विकल्प माथि छलफल भएको छ ।’

उनका अनुसार पहिलो दुई वटा विकल्प भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो विकल्पमा जोड छ । हाल राम्रो काम गरेकालाई राख्ने र वाँकी नयाँ थप्ने प्रधानमन्त्रीको प्रस्ताव छ । तर, सवै मन्त्री हटाउनुपर्नेपक्षमा भने कोही नेता थिएनन् । त्यसपछि नेताहरुले एउटै मापदण्ड बनाएर जाने विषयमा सहमति गरेका छन् । त्यस अगाडि थप छलफल गर्ने उनीहरुको योजना छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबै मन्त्रीलाई हटाएर नयाँ शिराबाट अगाडि बढ्न ठीक हुने बताएका थिए । ‘सबैलाई राजीनामा दिन लगाउँ । त्यसपछि पहिलाकै सिनियर, क्षमतावानलाई राख्ने र वाँकी नयाँलाई पठाउने ठीक हुन सक्छ । त्यसो गर्दा पुरै पुरानालाई हटाँएर नयाँ राख्ने भन्नेपनि भएन । मन्त्रिपरिषद् भनेजस्तो गरी पुनर्गठन पनि हुन्छ । नयाँमा पनि सिनियर, क्षमतावान र योग्यहरुलाई बनाउँ । त्यसले सरकारको काम पनि प्रभावकारी हुन्छ,’ दाहालको भनाई उद्धृत गर्दै ती सदस्यले भने ।

पार्टीभित्र उत्पन्न अन्तरविरोधले गर्दा सरकारका काम प्रभावित भएको निश्कर्षसहित नेकपा आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न मन्त्रिपरिषद् पुर्नगठनको पक्षमा छ ।

मन्त्रिपरिषद् पुनगर्ठन गरेर सरकारको काम कोभिड–१९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणा पत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताहरुको कार्यान्वयन जस्ता महत्वपूर्ण बिषयहरुमा केन्द्रीत गर्ने नेकपाको तयारी छ ।

 

सम्बन्धित् समाचार