गृहपृष्ठ Featured कपिलवस्तुमा विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा एकको मृत्यु, २ बेपत्ता

कपिलवस्तुमा विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा एकको मृत्यु, २ बेपत्ता

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीमा एक ज्यान गएको छ । बाढीले विद्युत प्राधिकरण जितपुर वितरण केन्द्रको  जीप बगाएको थियो ।

बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका-९ भलवाडमा विद्युत मर्मत गरी फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको हो । मोतीपुर कजवे पार गर्ने क्रममा उक्त जिप बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास निवासी विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन्।

प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना बेपत्ता भएका छन्। जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधारण चढेका थिए। २ कर्मचारी र १ सर्वसाधारण पौडी खेलेर निस्किन सफल भएका  वाणगंगा नगरपालिका वडा नम्बर  ९ का अध्यक्ष धुर्व बेल्बासेले बताए ।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी खोजतलास गरिरहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले बताए। खोलामा पानीको बहाव बढेकाले खोजी गर्न असहज भएको छ।

सम्बन्धित् समाचार