गृहपृष्ठ Featured निलो गुराँस – उपन्यास

निलो गुराँस – उपन्यास

प्रकाशित मिति:

भदौको मध्यतिरको एक बिहान –


बसपार्कको ठीक ३ किलोमीटर पूर्व उभिएर मर्निङ वाकको बहानामा घरबाट निस्केको ठ्याक्कै १६ मिनेट पछि म चिया पिउने बहानामा चुरोट पिउन सडक छेउको ठेलामा उभिएको छु । कुहिरो हट्न मानिरहेको छैन । घाम जन्मने प्रचेष्टामा छ तर कुन दिशाबाट जन्मन्छ भरोसा छैन ।
सडकले पूर्वपश्चिम नछुट्याउँदो हो त मान्छे दिशाविहिन हुन्थे । म जस्तै मर्निङ वाकको बहानामा निस्केका खुट्टाको संख्या अब लगभग सय कटेको छ । सबै प्रायःले ज्याकेट भिर्न बिर्सेका छैनन् । दिउँसो उखरमाउलो गर्मी भएपनि बिहान साँझ चिसोले परिचय दिन उपस्थिति जनाउन आइपुग्न थालेको भर्खर भर्खर हो ।
बुटवल । यो योग्यता, अनुभव र योगदान दिनेहरूको शहर हो । विरासतलाई एकछिन अर्को छेउमा राखिदिने हो भनें यहाँ टेक्नेहरू शत प्रतिशत मेहनती मानव वर्ग हुन् । देशको औद्योगिक शहर हुनुमा यसले भलै आफ्नो विरासत गुमाउने स्थितिको तयारी गरेको होस् तर यसलाई टेक्नेहरूले भए सफलता नत्र सफलताको पाठ जरुर पढेका छन् यसर्थमा यो एउटा खुल्ला विश्वविद्यालय हो । तर म ठेलामा उभिइरहेको बिहान घडीमा बिहानको साढे पाँच बजेपछि कलेज क्याम्पसका विद्यार्थी अध्यनशाला जाने मार्ग पनि हो । म आफ्नो उमेरको पढाइ सकेर प्रारब्धले व्यवसायको क्षेत्रमा डोर्‍याएको एकथान व्यापारी हुँ भनेर चिनाउनुमा आफूलाई लज्जित महसुस गर्छु । मेरा उमेरका, मेरा साथी र सहपाठी अध्यन सकेर अरुको जागिर खाँदै छन् कमसेकम म त्यो अपराध सहने मानसिकताबाट मुक्त छु ।

दुई कप चिया सँग दुई थान चुरोट सकेपछि आज पहिलोपटक लगातार तेस्रो चुरोट पिउन मन भएर आउँछ । घरमा मलाई आमाको बाहेक अरु कसैको वास्ता गर्नुपर्दैन । बुवाले छोडेर गएको आगामी पुषमा ४ बर्ष हुनेछ भनेर म फुर्सदमा सोच्ने गर्छु ।
पुरै बिहारी लवजको मुस्तफा नामको ठेला व्यापारी कमसेकम पछिल्लो दुई बर्ष यताको मेरो चियाचुरोट आपूर्तिकर्ता हो । तेस्रो चुरोटको आधा चुरोट पिउँदै गर्दा  ठेलाबाट पाँच मिटर अगाडि यसरी एउटा दृश्य पोखियो कि मैले वरपरको सब वातावरण नै बिर्सिदिएँ । कमसेकम आधा दर्जन बर्षको बिहानी पढाईको बोझ बोकेको मान्छे हुनुको नाताले त्यो दृश्य मेरो आँखामा पहिलोपटक ठोकिन आइपुगेको हो भनेर मलाई याद हुन समय लाग्दैन ।
इन्जिनियरिङको पढाइ सकेर पनि व्यापार व्यवसायमा लागेको भएपनि मलाई समय मौसम याद र परिस्थितिको मूल्यांकन र हिसाबकिताब जरुर पूर्ण सम्पुर्ण रूपले आउँछ भन्दा अत्युक्ति नहोला ।
त्यो एकथान स्कर्ट लगाएको युवती सयौं मान्छेको बीचमा पहिलोपटक मेरा आँखामा एक्लै हिँडेकी छ । त्यो सम्म सामान्य थियो । सबैले ज्याकेट भिरेर हिँडेको समयमा उ एक्लै छाता ओढेर ठीक मेरो दिशामा आउन उद्धत छ । म यसलाई कसरी बुझ्नुपर्छ भन्ने प्रश्नमा अल्झिन खोज्छु त्यसैबेला त्यो युवती मेरै छेउबाट पुर्वतिर लाग्छे – आज पहिलोपटक हातको चुरोटले मेरो औंलाहरू जलाएकाछन् । आज पहिलोपटक यति धेरै कुरा एकैपटक भएका छन् ।
मैले कसैको कसम खाएर भन्नुपर्यो भनें यही भन्छु – आज पहिलोपटक मैले कुनै स्त्रीलाई यति धेरै समय हेरेको छु ।

युवती मेरो भूगोलबाट बढीमा १५ मिटर पर गएपछि मेरो मर्निङ वाकले पहिलोपटक पुर्वको यात्रा तय गर्छ, बाँकी मान्छे सधैं र सधैं पूर्वबाट पश्चिमको यात्रा गर्छन् ।
म उसलाई समानान्तर दूरीमा पछ्याउँदै अघि बड्छु । उ पछि फर्केर हेर्दिन । छाता म तिर फर्केर हिँडिरहेको छ उसको काँधमा आफ्नो मेरुदण्ड राखेर । म त्यो मेरुदण्डले तानेको एकथान परजीवी हुँ । जसलाई नपछ्याउँदा मानौं मेरो अस्तित्व सकिन्छ ।

म समयलाई नाप्न घडी हेर्दिन, दूरी नाप्न मिटर हेर्दिन, मान्छे, समय, हैसियत, प्रारब्ध, उचाइ, अपनत्व मलाई मेरै ‘आफ्नोमिटर’ ले नाप्ने योग्यता प्राप्त छ भनें म यो अध्यात्म र भौतिकवादको घेराले नबाँधिएको मान्छे हुँ ।
आज अजीव फिलिङ्स आइरहेको छ । म दौडिँदै गर्दा आज पहिलोपटक चौंथो चुरोट पिउन मन भएर आउँछ । दाहिने हात खुलाए मात्रै ठेला भेटिने यात्रामा म जगिङ गर्दैछु । त्यो युवतीले छाता हटाएर हेरोस् पछि फर्केर भन्ने सोचले म फुटपाथमा खुट्टा बजारेरै दौडिरहेको छु ।

बढीमा छ नबज्दै त्यो केटी मैले ११-१२ पढेको कलेजको गेटबाट भित्र गइ । मैले शुरु देखि अन्त्य सम्म त्यसको एउटै आकृति देखें छाता र स्कर्ट कोठापरेको दृश्य ।
कलेज म पढेको हुँदै हो । द्वारपाले हामीले चिनेकै मान्छे हो । तत्काल गएर उसको जानकारी नलिनु म आफैंले आफैंलाई अन्याय गर्नु हो भनेर गेटपाले सम्म पुगेर चुरोट मागें । उसले चुरोट तेर्स्याउँदै भन्यो – ‘सल्काएरै दिउँ कि ?’
वास्तवमा उ लगभग हामी र हाम्रो मात्रै नभएर कलेजमा चुरोट पिउनेहरू सबैको साथी थियो । उमेर आधा वैंश, पेशा चौकिदार, घर त्यतै वरपर भाडाको कोठा । बाँकी जानकारी उ बाहेक कसैसँग थिएन – आवश्यक पनि थिएन ।

प्रसंग लुकाउन आवश्यक थिएन । म सोझै प्रस्तुत भएँ – मर्निङ वाक, चुरोट, त्यो केटि, छाता, म पढेको कलेज सबै विवरण एकाएक भट्यापछी नाम कक्षा लगायत जानकारी दिएर भोलीपल्ट बाँकी कुरा बताउने शर्त बाँधेपछि म यात्रा टुङ्ग्याएर घर फर्किने मनस्थितिमा पुग्छु ।

तपाईंले बिर्सनुभयो तर मलाई हेक्का छ, म मसँग ठोक्किन आउने बिषय, बस्तु र बिषयबस्तुको बारेमा जरैदेखि परिचित रहन्छु । त्यसको ठीक भोलिपल्ट त्यही समय त्यही स्थान त्यही सोच बोकेर म त्यसै ठाउँमा तेस्रो चुरोट पिउँदै गर्दा एउटा एक्लो युवती ठीक ३ मिटरको दूरीमा आँखा हिँडाएर आफू त्यसलाई पछ्याइरहेकी छ । बाटो म तिर अघि बढेको छ । हिजो र आजमा यत्ती फरक छ कि उसको हातमा छाता छैन र मेरोमा चुरोट । बाँकी सबथोक मिलेको त छ तर युवती त्यही हो भनेर चिन्ने कसरी ? मलाई कसैले पछाडिबाट घाँटी अँठ्याएको महसुस भइदिन्छ ।
म मर्निङ वाकको बहानामा दौडिन शुरु गर्छु उसको पछिपछि । यो पनि पहिलो दिन हो मलाई आफ्नो मर्निङ वाक कहाँ पुगेर सकिन्छ भन्ने हेक्का भएको । अलिकति अगाडि पुगेपछि बल्ल स्मरण गरें, मैले उसको चेहरा ठीक सँग हेरेकै रहेनछु । अब म उसलाई ठीकसँग याद गर्न पनि सक्छु कि सक्दिन भन्नेमा दोधार भयो । मैले उसलाई के के मा खोज्न खोजें हेक्का रहेन । तर जरुर उसको मुहार सँग मेरो लेनदेन थिएन । म यस्तै कारणले अरु भन्दा फरक छु ।

गेटबाट उ भित्र पनि गइ, चौकिदार सँग भेटिएँ पनि । हिजोको बयान फरक परेन, मेरो ठम्याइ गलत भएन । अरु धेरै कुरा देखि फोन नम्बर सम्म प्राप्त भयो बदलामा उसलाई पिलाउने चुरोट म सँग थिएन – उसैको चुरोट पिएर फर्कें ।  म चुरोट बोकेर हिँड्ने चेन स्मोकर हैन ।

बिहान पूर्वबाट उदाउँदै गयो, रात पश्चिमबाट । सबैको मर्निङ वाक घाम फुल्ने देशबाट शुरु हुन्थ्यो, अस्ताउने दिशामा अन्त्य । म एक्लो प्राणी थिएँ लगातार मैले गनेको छैन तर ५० भन्दाबढी दिन उसको मार्ग पछ्याउन उल्टो दिशाको यात्रा तय गरें । कहिले उ भन्दा अघिअघि दौडन्थें र फर्केर उसको अनुहार हेर्थें । कहिले उसको अघिपछि पालैपालो गर्थें मैले उसलाई नजिकबाट हेर्न सबै वैधानिक उपाय अपनाएँ । यसबीच उसले मलाई नोट गरेको हुनुपर्छ भन्ने अनुमान गर्न मलाई कत्तिपनी संकोच लाग्दैन ।

मंसिरको पहिलो सप्ताह थियो । युगले युगलताको आह्वान गरेको हुनुपर्छ सबै योग्य उमेर नयाँ अँगालोमा बाँधिन आतुर थिए । उमेरले तीन दशक छुन आँटेको अयोग्य इन्जिनियर म मा दबाब कति थियो त्यसको व्याख्या घटनाले बताउँदै जाला । कमसेकम यो मेरो जन्त जाने मात्रै उमेर थिएन ।


म यसै पनि मेरा साथीहरू भन्दा कि नराम्रो छु, कि त अरु भन्दा बढी राम्रो – तर छु म विशेष – बुवा यसै भन्नुहुन्थ्यो । मैले यही कुरा अरु र सबैको मुखबाट सुनेको पनि भएर मलाई त्यसैको बानी लाग्यो । अचेल आफैंलाई लाग्छ म अरु भन्दा फरक छु । मंसिरको पहिलो साता जन्त जाने अवसर प्राप्त भयो । मलाई जन्ती भएर जान अफ्ठ्यारो हुन थालेको छ । त्यसकारण म सकेसम्म कम समय जन्ती भएर खर्चन्छु बाँकी समय मलाई एक्लै टहलिन मन पर्छ । सुनसान ठाउँ, फराकिलो चउर, पहाड पुगियो भनें झरना छाँगा र खहरे । चराचुरुङ्गीको स्वर, पानीको आवाज, हावाले गाएको गीतको भाका म सबैसबै रूचाउँछु बस् मान्छेको प्रवृत्ति बाहेक अरु म सबै पच्न सक्छु ।
मैले अघिदेखि लुकाउन खोजेको पेशा यहाँ आएर मैले नभनी सुखै नहुने भयो । मैले बिहानै पुस्तकको डेलिभरी रिसिभ गरेर कामदारको जिम्मामा पसल छोडेर आफ्नो दुइखुट्टेमा बेहुलोको साथमा यहाँसम्म आइपुगेको हुँ । म आफ्नै आइडियोलोजिमा हिँड्न रूचाउने मान्छे र परिस्थितिको चापले गर्दा बिहेमा धेरै समय रोकिनु आफैमाथी बिहेको दबाब आइपर्ने भयले म वर बधु को भेटसम्मको जन्ती हुन थालेको धेरै भइसक्यो । शुरुशुरुमा त्यसपछि रक्सी पिउने काम हुन्थ्यो । त्यसपछि आमाको अरूचिक, आज्ञा, आग्रह र आँसु पश्चात् त्यसो गरिरहन म असमर्थ रहन्छु ।
बिहेको मण्डपमा भर्खर हाम्रो डफ्फा पुगेको छ । म खाना खाएर भूमिगत हुने योजनालाई साकार बनाउन सबैसँग अनुहार देखाउने चक्करमा छु । संयोगले कलेजका साथीहरू भेटिए – उसो त त्यो अप्रत्याशित थिएन । म त्यतै एकछिन गफ्फा मारेर उम्किने ‘प्लान बि’ मा तयारी गर्दैछु । यसबीच परर ताली बज्यो – मतलब स्वयंवर भयो । हेर्दाहेर्दै खाना खान सबै बाटो लागे । म सबैलाई पछ्याउनुमा आफ्नो हित देख्छु ।  खाना खाएपछि मेरो ब्याचको सबैभन्दा पकलण्ठुले शानदार सिग्रेट निकालेर दागबत्ती दियो । अरु हेरेका हेर्‍यै भए – म जानकार थिएँ कसै न कसैले त आज अनपेक्षित उग्रता ओकल्छ भन्नेमा । त्यसकारण मलाई आश्चर्य लाग्ने कुरै भएन । सबै उसँग प्रश्न गर्न थाले, आकर्षित हुन लागे । उ हेर्दाहेर्दै हाम्रो ७/८ जना बीचको हिरो भइगयो । मलाई त्यहाँबाट फुत्कने यो भन्दा अर्को सुवर्ण अवसर कहाँ प्राप्त हुनसक्थ्यो ? सबैका आँखा तिर गुप्तचरिय ढंगले आँखा पुर्‍याउँदै म पछि हट्न थालें १…२….३….४….
एक्सक्युज मि …!
एक्सक्युज मि प्लिज ……..।
दाहिने तिर हेरें ठ्याक्कै मण्डप छ । बेहुलाबेहुली त्यहीँ छन् । ढुक्क भएर देब्रे बाटो समातेर निस्कने तर्खर गर्दैगर्दा तेस्रो ‘एक्सक्युज मि…’ आएर कानमा ठोकियो । म ढुक्क छु त्यो मेरो लागि थिएन होइन र हुनेछैन । म आफ्नो मान्यतामा प्रष्ट छु ।
देब्रे तिर जब शरीरको अघिल्लो भाग स्थापित भयो झन्डै ठोकिने दूरीमा एकथान महिला अनुहार उपस्थित थियो । म झसङ्ग झस्किएँ । सकेसम्म तर्कनु छ जस्तो महसुस भइगयो ।
महिला आवाज बोल्छ – हाई
मैले दायाँबायाँ मुन्टो घुमाएँ उसको मुस्कानको उत्तर दिन कुनै अनुहार उसको दिशामा फर्केको छैन ।
मैले आफैंलाई देखाएँ – उसले हो भनी । म आश्चर्यमा परें ।
मैले देख्दै नदेखेको – चिन्दै नचिनेको अनुहार म सँग सिधै ‘डिल’ गर्ने मानसिकतामा देखिएको छ । म अब के बोल्ने ?
चिन्ता यतिमा सकिँदैन – यहाँबाट निस्कने काममा कोही वाधा भइ पो हाल्छ कि ? म साना कुरा सँग अनावश्यक तर्सिन थालें ।
मेरा क्लासमेट सबै मेरो पछि आएर उभिइसकेछन् मलाई थाहै भएन ।
युवती अंग्रेजी बोल्छे – के हामी कुरा गर्न सक्छौं ?
अघि सिग्रेट सल्काउँदै गरेको कमसल इन्जिनियर स्वासमा ल्वाङको चुरोटको हस्को निकाल्दै बोल्छ जाओस् जाओस् अनि म धरातलमा आउँछु – म सबैबाट घेरिइसकेको छु ।
त्यो केटि –
– हेर्दा कतैबाट ‘वाह’ भन्ने खालकी छैन
– अनुहारको नक्सा कुनै देशको सिमाना सँग मिल्छ
– त्यो सँग आकर्षित हुनुपर्ने कुनै कारण छैन

नजाउँ – उसले ‘डिसेन्टली’ समय मागेको छ
जाउँ – सबै साथी त्यहीँ छन्
बिषयबस्तु थाहै छैन
केटाहरू सबले एकै आवाजमा भनें जा जा …

‘….स्योर’ – म बोलें ।
‘यहीँ ……?’ – ऊ ।
म मौन रहन्छु
साथीहरू एकथान हाँसेर दूरी बढाए
‘….केन वि प्लिज ?’ दायाँ हातले बाटोको संकेत गरेर ऊ बोली ।
म भन्न बाध्य थिएँ ‘ स्योर प्लिज….’ उ अगाडी लागि ।
म अब कसैको बिहेमा जन्त नजाने प्रण गर्न थालें
त्यतिन्जेल उसले बिहेको माहोलको ठीक बाहिर पुर्याएर हरियो साडीमा अर्को दिशामा फर्केर बसेकी युवतीलाई संकेत गरेर बोली – ‘सि वान्ट्स टु टक टु यु’ अनि मुस्कुराई
म त्यो साडीमा बेरिएको अनुहारको पछिल्लो भाग हेर्न थालें
त्यही युवती बोली – ओए यता हेर् त
त्यो युवती म तिर सत्तरी डिग्री मा मुन्टो झुकाएर फर्की
म कायल भएँ
यो त्यही थिई
जसलाई मैले आजसम्म पछ्छ्याई हिँडेको थिएँ
उ बोल्न तयार छैन

मलाई त्यहाँसम्म ल्याइपुर्याउनेले अनावश्यक गफमा अलिकति अगाडि सम्म मलाई तानी । उसकी सहेली पनि त्यतै उद्धत भइ ।

इन्जोय योर टाइम भनेर हरियो साडी तिर फर्केर बोलेपछी मलाई त्यहाँसम्म ल्याउने युवती बिनाकारण टाढा लागि ।
अलिकति उत्तर पश्चिममा बाँसघारी भन्दा अघि सानोतिनो खोला बगेको थियो । बाँसघारी अघि नै सिमेन्टेड बेन्च थिए । मैले के बोल्नुपर्छ हेक्का भएन ।

यो म सँग के भइरहेको छ ? बितिरहेको के छ ? म अब पुरै बेहोस भएको छु । जान सक्दिन त्यसलाई छोडेर । बोल्ने बहाना र प्रसंग म सँग छैनन् । विपरीतबाट यस प्रकारको कुनै अपेक्षा मूर्खतापूर्ण कुरा हो यो बेला ।

कमसेकम म प्रत्येक अवस्थामा सिधै हार नमान्ने मान्छे हुँ । तर मामिला युवतीको छ – आफैंले ५० भन्दा बढी दिन पछ्याएको युवती ।
कमसेकम त्यो मर्निङ वाक सम्झेपछी यो भेट अप्रत्याशित भएपनि अनुत्पादक रहनेछैन भन्ने लागेपछि मैले बोल्ने आँट बटुलें ।

‘हाई’………… म बोलें ।
उत्तर आएन
उ अलिकति अझ विपरीत दिशामा मोडिई

पर्नुपर्ने अफ्ठ्यारो अब म मा अलिकति पनि बाँकी छैन
म पहिलोपटक प्रष्ट छैन – अब मैले के गर्नुपर्छ

म सँग बोल्नुको विकल्प अरु केही थिएन
म बोल्न शुरु गरें
‘ मलाई यहाँसम्म आउँदा थाहा थिएन, मैले कसैसँग बोल्नुपर्छ भन्ने । मेरो बानी छैन, आचरणले म मा अनुभव छैन युवती सँग प्रस्तुत हुने शैली ।’

हलचल भएन

म फेरि थप्छु –
‘माफ गर्नुहोला, म यो भन्दा बढी बोल्न जान्दिन  ।’ मलाई एकपटक यो भेटको आवश्यकता बारे बताइदिए आभारी हुने थिएँ ।
त्यो पुरानो बिहानको कोठा परेको छाता, त्यस्तै स्कर्टको मूर्त रूप पहिलोपटक मेरो अघिल्तिर उभिएर बोल्यो – ‘डु यु ह्याभ गर्ल फ्रेन्ड ?’

म अवाक भएँ

के बोल्ने ?



मलाई एकैक्षणमा लाग्यो
            –  ‘म केही बोलौं ?’
यति त तय थियो कि त्यो भेट, र त्यसको लागि अघि भर्खर गरिएको एउटा प्रयास ती सबैसबै सामान्य थिएनन् । एउटा सिङ्गै युवती संभवत उसको मन पर्ने पहिरन, श्रिङ्गार र गहनाले आवश्यक पर्ने जति सजावट, कान र आँखाको बीचबाट झरेको अलिकति कपाल, ब्लाउज र साडीले ढाक्न नमानेको पीठोजस्तो कम्मरको हिस्सा । मैले ध्यान दिइरहेको छैन र पनि ती सब चीज एकैठाउँमा मेरो अघिल्तिर उभिएको छ । वास्तवमा मलाई युवतीको प्रशंसा गर्न आउँदैन नत्र म यो दृश्यमा कविता लेख्दो हुँ । मलाई कविता लेख्ने कुनै रूचि छैन । उसो त म कविताको सामान्य पाठक सम्म पनि होइन । म म हुँ तर यहाँ म र मेरो अस्तित्व संकटमा छ । इन्जिनियरिङका कठिन भन्दा कठिन प्रश्नको हल गर्ने सामर्थ्य भएको म एकथान युवतीको प्रश्नले पसिना निकाल्ने स्थितिमा पुग्दैछु ।
तर मलाई बोल्नुथियो ।
उसको प्रश्नको करीब एक मिनेट मौन बसेर मैले आफूलाई दर्हो रूपमा पेश गर्ने कोशिश गरें ‘…..तर किन ?’

उ बोलिन

‘के यो प्रश्न सोध्न आवश्यक थियो ?’ – म
चुपचाप चुपचाप र चुपचाप मौनता उता छँदै छ

‘सरि, मलाई युवतीहरूसँग बोल्न आउँदैन’ मैले दोस्रोपटक दोहोर्‍याएँ । अपेक्षा यो थिएन कि यति भनिसकेपछी उसले आफ्नो प्रश्नको उत्तर मेरो अभिव्यक्तमा प्राप्त गरोस् । जे बोलें त्यो सहि थियो ।

अरु केही बेर उसले बोल्ने जाँगर नदेखाएपछि मैले आफ्नो योजना सम्झें । ठाउँ लगभग एकान्त प्रायः छ । वरपरका रहेका अलिअलि मान्छे सबै अपरिचित छन् । त्यही एउटी युवती छ जसलाई फेरि एकपटक सुन्न मन छ तर उ बोल्ने मुद्रामा छैन भनें त्यहाँ बसिरहनुको औचित्य पनि छैन ।

म अलिकति निराश मुद्रामा बोलें – ‘मलाई लाग्छ, अब म निस्कनुपर्छ ?’

उ फेरि बोलिन

दुई कदम पछि हटेर म अर्को दिशामा फर्केर सरासर बाटो लागें । पहिलोपटक कसैले बोलाओस् र रोकोस् मलाई त्यहाँबाट जान जस्तो लाग्यो । थाहा यो पनि थियो कि त्यो सब संभव थिएन र भएन पनि ।

म भर्खर यतैकतै डकैत गरेर भाग्न लागेको चोर झैं सबै परिचितबाट बँचेर त्यो माहोल बाट टाढिन उद्धत थिएँ । विवाह स्थलको बाहिर पार्क गरेको बाइकसम्म पुग्न निकै सकस लागिरहेको थियो । घाँटी दबिएको जस्तो लागेर टाइलाई अलिकति खुकुलो बनाएँ । तैपनि सास फेर्न अफ्ठ्यारो भइरहेको छ । म बाइकमा पुगेर हतारहतार स्टार्ट गरेर त्यहाँबाट बाहिरिएँ । कतै पुगेर पहिला पानी पिउनु छ । एकफेर फोक्सोसम्म पुग्ने गरि श्वास लिनु छ ।

क्रमशः

सम्बन्धित् समाचार