वैखरी अनलाईन : कपिलवस्तुमा कोरोना संक्रमणको जोखिमकाबीच विद्यालयहरु खुल्न थालेका छन् । ६ महिनादेखि बन्द रहेका विद्यालयमा अब पठनपाठन सुरु हुन लागेको अवस्था छ । कोरोनाको महामारी र लामो लकडाउनले नयाँ शैक्षिक सुरु भएपछि पढाई प्रभावित भएको थियो ।
असोज महिनाबाट लागू हुने गरी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका जारी भए लगत्तै कपिलवस्तुका अधिकाशं विद्यालयहरु संचालनमा आएका छन् । देशमा कोरोना संक्रमण जोखिमको दर झन झन बढिरहेको अवस्था छ । कपिलवस्तुको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका लगायत सबै पालिका तथा गाउँपालिकाहरुका विद्यालयमा पठनपाठन सरु भएका छन् ।
यस्तो अवस्थामा विद्यार्थीहरुमा संक्रमण फैलिने हो कि भन्ने एउटा चिन्ता बढेको छ । विद्यालयले भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै दुरी कायम गरेर पठनपाठन सरु गर्ने गरेको बताएका छन् । विद्यालयमै पढाइ भए पनि कक्षा सञ्चालनको ढाँचा भने पहिले भन्दा फरक नै रहेको उनीहरुको दाबी छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित जनता मावि पिपरामा पनि विगत पाँच दिनदेखि पठनपाठन सरु गरिएको प्रधानध्यापक रमेश पन्थीले बताए । पन्थीले भने ‘स्वास्थ्य मापदण्ड अपनाएर एउटा कक्षामा बढीमा १६ जनालाई राखि अध्ययन गराई रहेका छौ तर नगर तथा जिल्लाबाट कुनै पनि अनुगन टोली भने विद्यालय अनुगमनमा आएको छैन् । ’ विद्यार्थीका विच प्रविधि मैत्री बातावरण नहुदाँ पठनपाठनमा समस्या भएपछि विद्यार्थीलाई विद्यालयमै बोलाएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पठनपाठन गराइएको प्रधानाध्यापक पन्थीको भनाई छ ।
स्थानीय तहका शिक्षा प्रमुखहरुले भने विद्यालय सञ्चालन गर्न पालिकाले अनमति नदिएको तर केही विद्यालयले निर्देशिकामै टेकेर विद्यार्थी बोलाएको बताए ।
‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको एउटा बुँदामा विद्यालयमै बोलाएर पनि सहजीकरण गर्न सकिने भन्ने व्यवस्था छ’– बाणगंगाका नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी बहादुर जि.सीले भने–‘त्यसकै आधारमा केही विद्यालयले विद्यार्थी बोलाएर थोरै पढाउन थाल्नुभएको छ, केही विद्यालयले बोलाउने तयारी गर्नुभएको छ ।’ त्यसरी विद्यार्थी बोलाउँदा स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।
नगरपालिकाले केही विद्यालयमा गएर अनुगमन समेत गरेको जिसीले बताएका छन् । अनुगमनका क्रममा केही विद्यालयका साना कक्षाहरुमा स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएकाले विद्यालयलाई सुरक्षाका मापदण्ड अपनाएर मात्र पढाउन आग्रह गरिएको जिसीको भनाई छ । ‘बाणगंगा नगरपालिकाले नगरका विद्यालय संचालन गर्ने बारे भने कुनै लिखित निर्णय गरेको छैन् उनले भने ।’
उता प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले भने ‘यसप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, हामीले विद्यालय सञ्चालन गर्न भनेका छैनौं, निर्देशिका अनुसार कतिपय विद्यालयले सिकाइ केन्द्रको रुपमा थोरैथोरै विद्यार्थी बोलाएर पढाउनुभएको छ ।’
पौडेलले के कति स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयहरुमा पठनपाठन भई रहेको छ भन्ने कुराको अनुगमन भने नभएको बताएका छन् ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा रेडियो, टिभी, कम्प्युटर, इन्टरनेट माध्यमका साथै समुदाय वा विद्यालयमा दुरी कायम गरी पढाउन सकिने उल्लेख छ । रेडियो र टिभिको माध्यमतिर विद्यार्थीको ध्यान नजाने र अनलाइनमा सबैको पहुँच नपुग्ने शिक्षकहरुको भनाइ छ । धेरै सामुदायिक विद्यालयहरुले विद्यालयमै कक्षा सुरु गर्न थालेपछि निजी विद्यालयहरुले पनि त्यसको अभ्यास गर्ने तयारी गरेका छन् ।