५.
शीत ओढेर बिहान जन्मन थालेको धेरै भइसक्यो जस्तो मलाई लागेपनि ठ्याक्कै यति नै भयो भनेर म हिसाब गर्दिन – अन्दाज लगाउँदिन । अचेल म बेफुर्सदमा फुर्सदिलो हुन्छु, फुर्सदमा हतारिन्छु । पुग्नुपर्ने ठाउँ कि त पहिल्यै पुग्छु र पुग्नुपर्ने बेला फर्कन्छु नत्र ठीक बेलामा पुगेको भए फर्कने समयमा बल्ल त्यता लाग्छु । मेरो घडीले ठीक समय नाप्दैन अचेल, अचेल मेरो मुटुले बेला समातेर हल्लिँदैन । म घरीघरी कामलाई बीचमै छोडेर मुटु हल्लिएको छ कि छैन भनेर दायाँबायाँ दुबै छातीमा हात राखेर आफू हुनुको प्रमाण खोज्छु । मेरा हातहरू स्टेथेस्कोप बनेर सजीव जिन्दगी बाँच्न थालेका छन् – मुटु नाप्छन्, चुरोट च्याप्छन् मेरा हातहरू म भन्दा बड्ता असल छन् ।
म अचेल बिहान दौडिन निस्कन्न । म मा जाँगर हराएको छ । आमालाई बिहानै उठेर दौडिने छोरो जाडोले गर्दा गएन भन्ने लाग्छ भनेर संसारका सबै छोराले बुझ्न सक्ने तथ्य हो । अचेल त्यो पनि छैन तर प्रभातकालिन हिँडाइमा नजाँदा पनि म बिहानको चिया आमासँग पिउथें । २/३ बर्ष देखि बिहानको चुरोटको तलतल अरु कुराले मेट्न सक्दैनथ्यो । अचेल मन लागेको बेला गोजिबाट निकालेर पनि चुरोट पिउँदिन । उसो त मेरो गोजीमा पर्याप्त चुरोट नै हुँदैन । मलाई चुरोट पिउने जति जाँगर आयो, त्यति जाँगर चुरोट बोकेर हिँड्ने कुरामा कहिल्यै आएन ।
त्यो केटी ।
सामुन्ने आउँदा त्यति सहज लाग्दिन, त्यति खास लाग्दिन त्यति सुन्दर पनि लाग्दिन जति त्यो ओझेल भएपछि लाग्छे । ऊ प्रष्ट छे – म उसको बारेमा के सोच्छु । म अनुमान गर्न सक्छु ऊ मेरो बारे के सोच्छे । यही कि – ‘त्यो मर्निङ वाकको बहानामा मेरो पछाडी दौडने मान्छे ….’ यत्ती सोचेर ऊ मुसुक्क हाँस्दी हो । म जबजब सडकमा नयाँ तरुनीहरू देख्छु, देख्छु छोटा स्कर्ट लगाएका चुलबुले बैंशका नयाँ प्रतिबिम्बहरू, दोकानको अघि उभिएका नाङ्गा छाताहरू, शालीन नितम्बलाई खुब ढंगसँग ब्लाउजले ढाकेर साडीमा सजिएका जोसुकै आइमाई देखियुन् प्रत्येकबाट परावर्तन हुने प्रकाशले त्यो र त्यही युवती मेरो आँखामा नाच्न आइपुग्छे । अचेल फुर्सदिलो बेफुर्सदमा बेवारिसे सडकका तथानाम युवतिको प्रत्येक अंगअंगमा उसलाई खोजी हिँड्छु बेपर्वाह ।
कहिले साइकल चढेर, कहिले स्कुटर चढेर, कहिले पार्लर पुगेर, कहिले पार्लर पुग्न, कहिले साथी भेट्न, कहिले साथी भेटेर ….. उसका प्रत्याशित काम यिनै होलान् तर मकहाँ आइपुग्छे । धेरै समय पसल भित्र आइन । छेउछाउका सबै पसल उसले किनमेल गरेर भ्याइसकी । मेरो पसलका एकएक सामानमा उसले गहिरिएर हेरिसकी हेरिन्जेल हाँस्दिन र बोल्छे अरु कसैसँग म तिर हेरेर । आँखामा कुनै डर देखिँदैन प्रेम देखिँदैन प्रश्न गुनासो केही देखिँदैन । उसो त मैले त्यत्रोबेर जुधाएको पनि छैन आँखा । तर अचेल ऊ पसल पनि आउँछे तर अरु कसैसँग र प्रश्न गर्छे – ‘सन्चै हुनुहुन्छ ?’ म उत्तर दिन्न । उसको साथमा जो छ उसलाई सोध्छु के सेवा गरौं ? भनेर । किनकि मलाई थाहा हुन्छ त्यहाँ मेरो उत्तरको अपेक्षा उसलाई हुँदैन ।
उसको फोन नम्बर बोकेर हिँडेपछि मेरो फोन हराएको छ । तर मलाई उसको नम्बर हराएकोमा पश्चाताप छैन । मैले चाहें भनें फेरि उसको नम्बर खोज्न सक्छु तर नम्बर भएर पनि फोन गर्न सक्दिन । नसकेर मात्रै पनि होइन, गरेर के भन्ने ?
अत्यन्तै असन्तुलित समय बितिरहेको छ । हामी हाइ हलो गर्छौं । गर्छौं होइन, ऊ त्यसो गर्न आइपुग्छे । म उसलाई कफि पिलाउन लिएर जाने फिल्मी योजना बनाउनुमा कत्ती मजा देख्दिन । मेरो ‘इगो हर्ट’ भएको पक्कै होइन, तर म प्रष्ट छु जति सम्मान अरुको गर्छु त्यति अरुबाट पनि अपेक्षा गर्छु । म पटकपटक यही सोचिरहन्छु कि उक्त युवतिबाट मैले अपेक्षा गरेको त्यही सम्मानको कमीले गर्दा म उ सँग थप नजिकिन सकिरहेको छैन । तर म मेरै मान्यतामा शतप्रतिशत प्रष्ट छैन । कति चैं सत्य हो भनें म मा त्यो केटि पगाल्ने क्षमता छैन भनेर अघि बढ्न नसकेको कुरा चैं ढाँट्न नहुने सत्य हो ।
म घरीघरी रक्सी पिएपछी सोच्छु कि म त्यस युवती प्रती यति धेरै पटक सोच्नुको कारण के हो ?
– म त्यसलाई मन पराउँछु ?
– त्यो बाहेक अरु कसैलाई पनि पराउन सक्थें तर त्यो नजरमा परेकी हो ?
– के मलाई त्यसको खाँचो छ ?
– त्यो वा अरु, जसको भएपनि खाँचो छ ?
– मलाई त्यो सँग डर लाग्छ ?
– के म त्यो भन्दा कमजोर र डरपोक छु ?
– के मलाई त्यो सँग बोल्न नआएको भएर पनि सम्झेको हुँ ?
– के त्यसले मलाई मन पराउँछे भनेर सोच्दछु ?
– अरु यस्तै यस्तै …….
जब मलाई त्यो केटीको नजिक पनि र टाढा पनि जानबाट डर लाग्न थाल्यो अनि म बिस्तारै घरमुखी, कोठामुखी, एकान्तवासी हुन थालें । मर्निङ वाक छोडें बिहानको चिया चुरोट नपिएकै धेरै भयो । कसैले नभन्दासम्म दाह्री कपाल छोट्याउँदिन । कतै एकान्त पहाडको टुप्पोमा पुगेर चिच्च्याएर ‘उसलाई माया गर्छु’ भनौंजस्तो लाग्छ तर म उसको प्रेममा यसरी पागल पनि भएको छैन । चटक्कै बिर्सेर आफ्नो नित्यकर्ममा लागौं पनि सक्दिन । भएको के हो भन्ने म आफैं प्रष्ट छैन । सानैदेखि अन्तरमुखी भएकाले मेरा असाध्यै कम र औपचारिक साथीहरू थिए समय सँगै सबै टाढा पुगिसके । नत्र यस्तो बेला काम आउने थिए । मेरो सबै कुरा, समस्या, अनुभव साट्ने साथी बुवा हुनुहुन्थ्यो पछि आमा हुनुभयो । आमासँग एकैचोटि यस्तो कुरा साट्न अफ्ठ्यारो छ त्यो बाहेक अर्को विकल्प अगाडी छैन । 

त्यो केटी !
अचेल हर दिन आउँछे र भेट्छे कुनै न कुनै बाटोमा, चोकमा, पसलमा वा अन्त कतै । पिछा गरेजस्तो लाग्दैन तर सधैं फरकफरक ठाउँमा भेटिन्छे । हेर्छे ऊ र म पनि त्यसै गर्छु । हामी एक अर्कालाई बराबर हेर्छौं । म हेर्छु ऊ मुन्टो घुमाउँछे ऊ हेर्दा म घुमाउँछु समय यसरी नै चलिरहेकै छ । न ऊ आउँछे नजिकिएर बोल्न, न म जान्छु बोल्न भनेर । तर ऊ म भन्दा बढी नजिकिन खोज्छे, बोल्न खोज्छे र बोल्छे । मलाई बोल्नमा खास जाँगर चलेर आउँदैन । ऊ बाहेक अरु स्त्री सँग बोल्नुपर्दा मेरा शरीरका प्रत्येक अवयब बाहिरको मान्छेले थाहा पाउने गरि हल्लिन्छन् ।
ऊ आउँछे कहिले मलाई मन नपर्ने पहिरनमा – भद्दा र छोटा कपडा लगाएर । तिघ्रा पिडौंला सब छताछुल्ल सडकमा पोखिने गरि हाँस्दै हिँड्छे मैले नचिनेको कुनै अर्कि स्त्रीसँग । गएर हानौं थप्पड र भनौं मलाई यो मन पर्दैन भनेर – तर सक्दिन । कहिले आउँछे श्रिङ्गारमा केही बाँकी नराखेर, उड्न तयार भएको पुतली जस्ती बनेर, सजावटले इन्द्रेणीजस्ती बनेर, मलाई बतास बनेर उड्न मन लाग्ने बनेर र लाग्छ गएर अँगालोमा हालौं र चुमौं बीच बजारमा उभिएर । म केही गर्न सक्दिन । म केही पनि त गर्न सक्दिन । तर मैके आजसम्म उसलाई कुनै पुरुष सँग बोल्दैगर्दा देखेको छैन । मेरो अहमताले त्यसलाई सधैं अध्यन गरिरहेको छ तर त्यो म होइन मेरो अहम् मात्र हो । म त्यस्तो छैन । म जे छु ठीक छु । म विशेष छु । बुवा यही भन्नुहुन्थ्यो । र सबै यसै भन्छन् ।
६.
‘समर सिजन’ को गर्मीले वातावरण भयावह ढंगले तातेको छ । आवश्यकताले आवश्यकिय भन्दा बढी चीज केही मागेको छैन । मान्छेहरू यसैको क्रममा निर्मम नियमितता जोडिरहेछन् । यस बीच म आफ्नो व्यवसायको उत्थानमा बढी तल्लीन हुनुपर्ने अवस्था आयो । बुवाले छोडेर गएको पुस्तक पसल करीब पाँच बर्ष हुँदा मैले उल्लेख्य विकास गर्न सकेको छु । बुवासँग मेरो पढाई खर्च उठाउनुपर्ने बाध्यता थियो त्यसैले उहाँले चाहेजस्तो वृद्धिदर हासिल भएन त्यो अब म गरिरहेको थिएँ जस्तो आमा सोच्नुहुन्छ तर सत्य के हो भनें त्यो सब आफैं भइरहेको थियो । जे होस् मलाई अब त्यसलाई विस्तार नगरी सुखै थिएन ।
एउटा सामान्य सटरमा टिकेको पसल बुवा आमाले समय दिएर पुग्थ्यो । त्यसपछि आमालाई घरमै राखेर मैले पसलमा काम गर्ने मान्छे राखें । पेशा राम्रै चलिरहेको थियो । बिस्तारै ठाउँ अपुग भयो । घरबेटी सँग पसल पछाडिको कोठा मागें, त्यहाँ भाडामा बस्ने दम्पतीलाई अर्कै घरमा राम्रै कोठा मिलाएर बीचको ‘पार्टेसन’ तोडें दुई बर्ष त्यसले धान्यो । अब क्षेत्रफल बढाउने ठाउँ छैन । कि त त्यो सटर नै छोड्नुपर्छ त्यसो गर्न विरासत बोकेको ठाउँबाट एकाएक हट्न सजिलो छैन त्यसमा पनि व्यवसाय लोभलाग्दो तवरले बढेको छ तीनजना कर्मचारी छन् तीनको चुल्हो जलेको छ । दोस्रो विकल्प त्यसलाई त्यत्तिकै राखेर नयाँ ठाउँमा नयाँ पसल गर्ने सोचमा म काम गर्न खोजिरहेकोछु ।
आमाको इच्छा छ म अब बिहे गरुँ त्यसपछि अरु कुरा सोचुँ । मलाई त्यो सोचले लामो समय सोचमग्न बनाएकै छैन । म बस् भनिरहेछु – ‘पख्नुस्, समय आएपछि सबै कुरा आफैं हुन्छ ।’ आमा मलाई धेरै कर गर्नुहुन्न । म कसरी भनौं एउटी केटी छ जसले मलाई घरीघरी ‘डिस्ट्रब’ गरिरहेकी छ भनेर । म बस् त्यो सोचलाई या त जिन्दगी बनाउन चाहान्छु नत्र हटाउन चाहान्छु जिन्दगी देखि तर यही हालमा त्यो परिवेशबाट मोडिन म सक्दिन ।
यो शहर पहिलोपटक मलाई नयाँ लागेको छ । म बिहानदेखि बेलुकासम्म र पिउन मन लागेको बेला राति अबेरसम्म घुम्छु डुल्छु । आमालाई भन्छु – म ढिलो आउँछु, हजुर खाना खाएर सुत्नुस् । उहाँलाई म प्रति शंका छैन । म पिएर घर पुगेको दिन आमाले थाहा पाउनुहुन्छ भन्ने मलाई थाहा छ तर म सकेसम्म जोगिने र लुकाउने असफल चेष्टा गरिरहन्छु । मेरो पिउने बानीको बारेमा आमा केही भन्नुहुन्न । उहाँको अनुहारमा मैले त्यसको गन्ध भेटेको पनि छैन । उहाँ सोध्नुहुन्न अघिल्लो रात ढिलो आउनुको कारण । मैले पिएर फर्केको अर्को दिन बिहानको नास्ता विशेष हुन्छ । बुवा पनि पिउनुहुन्थ्यो रे । उहाँ पिएपछी खाना नखाने गर्नुहुन्थ्यो भनेको मैले कहिलेकाही सुनेको हुँ । म मा बुवाको छायाँ देख्नुहुँदो हो । म यी कुराले भावुक हुन खोज्छु ।
म कुनै घटना वा सानातिना कुरा भए घरमा पहिले देखि नै सेयर गर्थें । त्यसकारण आमालाई लाग्दो हो छोराले केही भन्नेछ भनेर । तर म सँग सुनाउने कुनै नयाँ कुरा छैनन् । बस् म एउटा नयाँ ‘लोकेसन’ खोजिरहेको छु । यो काम सकेर मात्रै आमसँग कुरा गर्ने सोच छ ।
त्यस बिहान अघिल्लो रातको ‘ह्याङ्गओभर’ खुब नराम्रो थियो । म ब्युँझदा बिहानको आठ भन्दा बढी बजेको थियो ।
अघिल्लो दिउँसो शहरको एक चक्कर लगाएर आएपछि साँझ ५ बजेतिर म पैदल निस्कें पसलबाट । कतै पुग्ने उदेश्य थिएन । साँझ शीतल थियो । मन्द चिसो हावा चलेको थियो । सडक छेउछाउ मानिसहरू देखिन थालेका थिए । पसलबाट २० मिनेट अघि पुगेपछि एउटा रेस्टुरेन्ट देखियो । वरपर कतै मान्छे थिएनन् । म चुरोट पिउने ध्येयले भित्रीएँ ।
पैँचालिस बर्षको अर्धबैंशे पुरुष काउन्टरमा उभिएको छ । मैले चुरोट भनेपछि उसले ‘सर आइसक्रीम खाउँ न, आजैदेखि शुरु गर्या ।’ भनेर एकलट मुस्कान मेरो दिशामा छोड्यो । मलाई आइसक्रीम मनै नपर्ने पनि होइन, मन परेको भएर खोज्दै हिँड्ने पनि होइन । त्यो खानु वा नखानुपर्ने कारण म सँग दुबै छैन । तर पसले मेरो अनुमतिको प्रतीक्षामा अघि देखाएका दाँत बन्द नगरी उभिइरहेकै छ । मैले दुबै मगाएर टेबुलमा आसन जमाएँ । चियासँग चुरोट पिउन ११ पढ्दाको मध्यशत्र तिर केटाहरूले सिकाए । त्यसपछि लगातार त्यो बानीलाई निरन्तरता दिईयो । चुरोट सँगको चिया त मीठो हो तर पहिलोपटक आइसक्रीम र चुरोटको मजा म लुटिरहेको छु । साँच्चै यो मैले अपेक्षा गरेभन्दा बढी मजाको थियो । चक्लेट भेनिला स्ट्रबेरी मिसिएको आइसक्रीमको सोली बाट म एकएक टुक्रा टोकिरहेको छु, ओठहरू चिसा भएको महसुस गरेको पनि छु त्यसपछि तानेको चुरोटको सर्कोले अर्कै मजा थपिरहेको छ ।
सायद यही मजा पसलको अर्को कुनामा बसिरहेको पसल मालिकले देखिरहेको थियो । चुरोट सकिएपछि पनि म आइसक्रीमको बँचेको भाग खाइरहेकै थिएँ त्यत्तिकैमा साहु आएर – ‘भन्यो आइसक्रीम भन्दा आइस राखेर पेग लिनेकी सर ?’ उसले झट्ट मेरो अनुहार पढ्ने नियतले आँखा बर्सायो म सोच्न थालेको थिएँ खाउँ कि नखाउँ ? उसले मेरो प्रतिवाद नदेखेपछी अरु थप्यो सरलाई यता नयाँ देखेजस्तो लाग्यो नि उ फेरि हाँस्यो । म पक्का भएँ यो मलाई पिलाउने नियतले नै नजिकिँदैछ । मलाई उसको रवैया पटक्कै चित्त बुझेन र तत्कालै उठेर काउन्टरमा गएँ मेरो पछीपछी उ पनि आयो र काउन्टरको कुर्सी अगाडि उभियो मैले एउटा नोट टेबुलमा राखें, खर्च कटाएर बाँकी पैसा फिर्ता गरेपछि म चुपचाप निस्केर दायाँ लागें त्यहाँबाट ।
पछाडि फर्केर हेर्दा त्यो पसल ओझेल भइसकेको थियो । म किन यति छिटो आत्तिएँ त्यहाँ त्यो म जान्दिन, तर त्यसले प्रस्ताव गरेको आइस हालेको पेग चैं अब मलाई नभइ भएन जस्तो लाग्न थाल्यो । घडी हेरें छ बजिसकेछ फर्किहाल्दा पनि कमसेकम साढे छ बजे पसल पुग्छु पसल बन्द गरेर छिटै घर पुग्न सकिने बेला थियो । उसो त मैले पसल बन्द नगरेकै धेरै दिन भैसक्यो । बिहान पुगेर अघिल्लो दिनको हिसाब लिन्छु स्टाफबाट – मलाई त्यसरी पनि चलेकै छ जस्तो लाग्छ । सडकको छेउमा सानो चौर छ, त्यहाँ बसेर म केही बेर सोच्न थालें पसल जाउँ कि कतै पसेर पेग लगाउन शुरु गरुँ ?
यत्तिकैमा त्यही युवती आइपुगी हातमा साङ्गोले बाँधेर कुकुर डोहोर्याउँदै । त्यो चौरको एक चक्कर लगाइ, हाँसेर बोली फोनमा कसैसँग । टाढा पुगेर हेरि मलाई फेरि फर्की र अर्को छेउ पुगि । बिस्तारै हिँड्दै, उभिँदै मलाई हेर्दै एवं रीतले चारपाँच पटकभन्दा बढी यता र उता गर्दै फोनमा बोली म उ जताजता गइ उताउता हेरिरहें । त्यसबीच मलाई कसैले हेरेको छ कि छैन भनेर पनि चिहाउने चेष्टा गरें । असारको साँझ थियो, घाम डुबिसकेको, शीतल मौसम । पातलो हाफ पाइण्ट सँग कालो टिसर्ट लगाएको एउटा सेतो वर्णको आइमाई मान्छे मेरो अघिल्तिर दायाँबायाँ गरि हिँडिरहेको छ । म उसलाई चाहेर पनि बोलाउन सक्दिन । उ शरीर जमीनमा, आँखा म मा, ध्यान फोनमा, हात कुकुर बाँधेको साङ्लोमा अड्याएर टिकिरहेकी छ अघिदेखि । म भट्टी छिरौं, पसल फर्कौं कि त्यसलाई कुरेर बसौं अन्योलमा छु । पुरै पन्ध्र मिनेट फोनमा बोलेपछी आएर मेरो अघिल्तिर घुँडा दोब्र्याएर ठीक म तिर फर्केर बसेपछि उसले अलिकति हँसिलो मुहार बनाएर सोधी – ‘सन्चै हुनुहुन्छ ?’
मलाई अघिसम्म सन्चैं थिएँ, उ बोलेको सुनेपछि विरामी भएँ भन्ने मन भएर आउँछ ।
७.
हेरिरहेको अनुहारको भावभङ्गीले मैले सकेजती उत्तर दिने प्रचेष्टा गरेर ओठ तन्काएँ, मुस्काएँ अलिकति र बोलें – ‘उम, ठीक छु । तिमी ?’ प्रश्न गर्न अफ्ठ्यारो लागिरहेको थियो ।
उ कत्ती पनि असहज थिइन । उ फटाफट बोल्न खोजेजस्तो देखिन्थ्यो । लगातार प्रश्न गर्न थाली
– यता कताबाट ?
– उ त्यताबाट …. मैले आएको बाटो देखाएँ ।
उ खुलेर हाँसी
‘अनि पसल ?’
केटाहरूलाई छोडेर हिँडेको – मैले ढाँट्नुपर्ने कुरै थिएन
‘गर्लफ्रेण्ड भेट्न त होइन होला नि ?’ – दुबो उखेलिरहेका आफ्ना हात तिर हेरेर उसले लजाएको जस्तो गरि ।
हो र भेटिरहेको छु भनौं भन्ने नलागेको होइन । तर भनिन । भनें – ‘होइन, यत्तिकै निस्केको थिएँ पसलबाट । हिँड्दाहिँड्दै यहाँ आएर अडिएँ ।
‘अब ?’ उसले सोधी
घडीमा छ बजेर सन्ताउन्न मिनेट गएछ । म सँग पसल फर्कने समय छैन । मैले नढाँटेर भनें – ‘ड्रीङ्स लिन मन छ, अब त्यतै लाग्नसक्छु ।’ तर नपुग्दासम्म ठ्याक्कै यहीँ जान्छु भनेर भन्न सक्दिन ।’ मैले आफूलाई कत्ती पनि नलुकाई भनें ।
‘त्यसोभए अचेल वैरागिएर हिँडिरहनुभएको ।’ उ जिस्किई
मैले हैन भनें
उसले आफूलाई सबै थाहा भएको कुरा बताइ ।
मैले कसरी भनेर सोधें
उसले एकफेर हाँस्नु अघि दुईफेर ‘ कसरी कसरी’ भनी ।
अब बोल्ने कुरा म सँग थिएन ।
केही बेर मौन बसेपछि – ‘हुन्छ, तपाई जानुस् । पिउन ढिलो भयो होला ।’ भनेर उसले अनुहार बिगारी ।
आफू नजाने ? – म सँग बोल्ने यो भन्दा अर्को कुनै शब्द नै थिएन ।
म प्युँदिन नि त – उ हाँसी
मैले घरको कुरा गरेको – उसलाई अलिकति बिगार्न मैले कोशिश गरें
उ सामान्य अवस्थामा फर्केर बोलि – ‘हुन्छ, हजुर जानुस् । म पनि जान्छु ।’
मलाई थाहा थियो उसको घर । कि त मैले अघि आइसक्रीम खाएको दिशामा म जानुपर्छ नत्र उसको घरको दिशामा ।
म उठें र भनें ओके बाई । म जान्छु ।
उ बोलिन
म फेरि बोलें उसो त म तिम्रै घरको बाटो भएर फर्कँदैछु । जाने हो ?
उसले सोधी – ‘मेरो घरको बारेमा तपाईंलाई कसरी थाहा भयो ?’
चौकीदारले दिएको ठेगाना यहाँ आएर अनायास निस्क्यो मुखबाट । यसको बचाउ गर्ने उपाय तत्कालै दिमागमा आएन ।
‘सात बजिसक्दा सम्म यहीँ छौ यसको मतलब तिम्रो घर यतैकतै हुनुपर्छ । म पनि त त्यही बाटो जाउँला तिमीलाई घर छोडेर भन्न खोज्या ।’ मैले सकेसम्म स्थितिलाई सहज बनाउने ढंगले झुट बोल्ने कोशिश गरें तर मलाई लाग्छ उसले पत्याउँदिन ।
हाँसेर उसले भनी – ‘होला खुब गफडी ।’
मलाई थाहा थियो उसले पत्याउँदिन । त्यस्तै भयो ।
‘मेरो नम्बर पनि थियो किन कल नगर्या ?’ उ भुइँमा बसेर म तिर हेरेर प्रश्न तेर्स्याउँदैछे । म अवाक भएँ त्यो सब उसले कसरी पत्ता लगाइ भन्ने लागेर ।
उठेर ‘हुम् ?’ भनेर फेरि प्रश्न ताजा गरि
म उसैलाई हेरिरहेको छु – त्यसै उ पनि गरिरहेकी छे ।
भित्र भित्र उ हाँसेकी छ । म अन्योल बनिरहेको छु – अब के भनौं ?
नम्बर थिएन भनौं भनें उसले कुनै तथ्य फेला नपारी यसै भनेकै छैन, थियो भनौं भनें स्रोतको बारेमा दिनुपर्ने थप स्पष्टीकरणका कारण म त्रसित हुन थालें ।
– नभन्ने हो ?
– बोल्न मन नलागेर हो ?
उ बराबर घोच्न थाली
म फेरि आत्तिन थालें
चुपचाप त्यहाँबाट बाहिरिनु बाहेक अरु कुनै विकल्प म सँग थिएन । जुन कुराको उत्तर म सँग हुँदैन, म त्यो माहोल छोडेर हिँड्नु नै उपयुक्त देख्ने गर्छु । हो म स्वभावले यस्तै छु ।
ऊ सँग बिदा नमागी बाहिरिएपछी अघि कै रेष्टुराँमा पुगेर एक हाफ स्कच, सोडा, कागती र बरफ मगाएँ । अर्डर आउन समय लाग्यो । चुरोट मागें त्यो पनि आएन । रेष्टुराँ अधिक व्यस्त थियो । काउन्टर पुगेर आफैं दुईटा चुरोट मागें र एउटा सल्काएँ, अर्को नसल्केको हातमै राखें र टेबुल देखाउँदै आफ्नो अर्डर पुन: बताएर सितनको समेत अर्डर थपेर अघि कै टेबुलमा बसें ।
चुरोट सक्कियो त्यसैको आगोमा अर्को सल्काएँ ।
त्यो पनि सक्कियो – अर्डर आएन ।
फेरि काउन्टरमा गएर अरु दुइटा चुरोट मागेर अर्डर सम्झाएँ । म बोल्दाबोल्दै अर्डर काउन्टरमै आयो । आफैंले सबथोक लिएर फेरि साविक कै ठाउँमा पुगेर बसें र पेग बनाउन थालें ।
काक्रो-गाजरको सलाद, बफ सुकुटी, मेरो फेब्रेट स्कच तर सोडा थिएनछ । वेटरलाई बोलाएर सोडा मगाएँ । सोडा रहेनछ । कोलड्रीङ्स मगाएँ । कागती र बरफ हालेपछि मेरो कक्टेल रेडी भयो । म शुरु भएँ ..एक …दुई….तीन ….
एक हाफ सकिँदासम्म समयले अझै नौ बज्न मानिरहेको थिएन । अर्को एक क्वाटर थपेर निस्कने सोचले म मगाइरहेको थिएँ । साहुजी मानिरहेका थिएनन् । मलाई थाहा थियो म मा अब अरु थप्ने सामर्थ्य छैन भन्ने कुरा । तर अब जाने कहाँ ?
म यो बेला यो हालतमा घर जाने अवस्थामा छैन । आमा सुत्नु पनि भएको छैन होला । अन्त जाउँ ? साथीहरू सँग मेरो सम्बन्ध नरहेको पनि बर्षौं भइसक्यो । आफ्ना आफन्तकोमा त काम परेर मात्रै पुग्छु यो कुनै पनि उपायले यसबेला काम दिँदैन । पसलमा सुत्न सक्थें । चाबी म सँग छैन । म यस्तै केही सोचेर त्यही टेबुलमा झोक्र्याइरहेको थिएँ । साहुजी आएर त्यहाँबाट निस्कन आग्रह गर्न थाले । वरपर बसेका सबैले म तिर हेर्न थाले । म फेरि त्यो ठाउँमा आत्तिन थालें । म सँग त्यहाँबाट निस्कनुको अर्को विकल्प थिएन । बिल तिरेर म बाहिरिन खोज्दै थिएँ । खुट्टामा तागत नभएको महसुस हुन थाल्यो । पसलहरु कुनै बन्द भइसकेका, कुनै बन्द हुने तर्खरमा थिए । मलाई यहाँबाट हिँडेर घर पुग्न करिब एकघण्टाको समय लाग्नेछ । म फर्केर त्यही रेष्टुराँमा पुगेर चुरोट र लाइटर किनेर घरको बाटो लागें । सडकमा कतै सडक बत्ति बलेका छन् कतै निभेका । टाढाटाढासम्मका कुकुरको कर्कस भुकाइले माहोल शान्त छैन । यसै पनि म कुकुर मन पराउँदिन । सडक बत्ती बलेका ठाउँमा कोही न कोही मान्छे भेटिन्छन् निभेका ठाउँमा भेटिँदैनन् । टाढैबाट आएका मान्छे देख्दा म मोबाईल चलाउने बहानामा उभिएको असफल अभिनय गर्छु । ता कि मेरो अस्पष्ट हिँडाइको छनक उनीहरूले थाहा नपाउन् ।
करिब आधा घन्टा हिँडेपछि म मा भएको सबै शक्ति सकिएको महसुस भएर सडक छेउको रूखको फेदमा अडेस लागेर सडकलाई पछाडि पारेर बसें । केही बेरमा चुरोट सल्काएँ । चार सर्को जति तानेपछी पेटमा सुनामी आएजस्तो भयो । मुखबाट अमिलो पानी निस्कन थाल्यो । हेर्दाहेर्दै पेट उम्लिएर मुखबाट पोखियो । म छेक्न खोज्दै थिएँ, तर पटकपटक असफल भएँ । १० मिनेट जति पछि म हल्का भएको महसुस गरें । मुख गन्हाइरहेको थियो । नजिकैको नालीमा गएर पानी उठाएर मुखमा हालेर कुल्ला गरें । मलाई थाहा छ त्यो पानी पनि मेरो मुखभन्दा सफा थिएन तर यहाँ यसको विकल्प थिएन । त्यसपछि जसोतसो घर पुगेर पल्टिएँ ।
मैले अघि नै भनिसकें, बिहान उठ्दा टाउको नराम्रोसँग दुखिरहेको थियो ।
८.
हरियो नम्बर प्लेटको कार आएर हर्न हान्दा म बाइक पार्क गरेर यताउता नजर घुमाइरहेको थिएँ । पसलको लागि नयाँ ठाउँ खोज्दै जाँदा निर्माणाधीन एउटा घरको निरिक्षण सकेर पसल पुग्नु अघिको एउटा चुरोट तान्ने ध्याउन्नले किञ्चित भयमाम एउटा पसल अघिल्तिर उभिएर परिचीत अनुहारको तलासमा आँखा घुमाउँदै मात्रै थिएँ ।
पसल भित्र छिरेर चुरोट सल्काउँदा त्यो कार अझैसम्म हर्न हानिरहेकै थियो । पसलबाट पछिल्लो ढोका समातेर बाहिरको दृश्य सँग चुरोट पिएर फर्कें । धूवाँ विसर्जन गरेर सरासर बाहिर निस्कँदै गर्दा ‘ओह हेल्लो’ मसिनो आवाज प्रतिध्वनित भयो । तर म पक्का छु, त्यो मेरो लागि थिएन । हेल्मेट लगाइसक्ने बित्तिकै म त्यो स्त्री आवाज तिर फर्कनै बाध्य भएँ जब उसले मेरो नाम लिएर बोलायो ।
कालो चस्मा, सेतो बुट्टेदार टिसर्ट, निलो जिन्स्,अग्लो हिल, हातमा मोबाइल बोकेको साढे पाँच भन्दा बढी फिट अग्लो एउटा नारी स्तम्भ मेरो अघिल्तिर खडा छ । म ट्वाँ परेर हेरि रहें । हेरि मात्रै रहें । चस्मा निकालेर सुशोभित छातीमा घुसार्दै म तिर अघि बढेर उसले सोधी – ‘चिन्यौ मलाई ?’
मैले चिन्ने कुनै सम्भावना नै थिएन । उसले आफ्नो परिचयमा नाम मात्र दिई । नाम सुनेको हो । मैले सबै मान्छे सम्झने कोशिश गरें, तर त्यो अनुहार मिल्दैन कसैसँग । मेरो अन्योलता बुझेर स्थितिलाई सहज बनाउँदै उसले आफ्नो बाँकी परिचय पस्किई । सोच्दै नसोचेको अनुहार दशकौं पछि एकाएक घाम झुल्केजस्तो झुल्केको छ भनें त्यो चिन्ने कसरी । आश्चर्यका बीच खुसी पनि लाग्यो भनेर बताउन जरुरी थियो तर रूचि थिएन तथापि बढाइचढाइ गरेर बोलिरहें । मलाई उ सँग बोल्न थालेको शुरुको केही समय पछि नै अत्यास लाग्न थाल्छ ।
उभिएरै धेरैबेर कुरा गरेपछि उसले कतै बसेर कुरा गर्न इच्छा व्यक्त गरि । म यसै पनि स्त्रीको सन्दर्भमा कमजोर प्रतीत भइहाल्छु । उसले मेरो मौनतालाई बुझेर होला कमिजको बाउलामा तानेर जान कर गर्न थाली । आफू बाइकमा आउने संकेत गरेर उसलाई गाडीमा जान भनें । म प्रष्ट थिएँ, उसको गाडी पछ्याउनेवाला म थिइन । मेरो असहजतालाई बुझ्दै उसले भनी – ‘तिमी टेन्सनमा छौ जस्तो देखिराछौ, कतै जान हतार भएजस्तो छ । कार्ड देउ पछि भेटौंला ।’
मलाई हलुङ्गो भयो
मैले राहत महसुस गरें
कार्ड दिँदा पनि त अर्को दिन समस्या आइपर्छ भनेर कार्ड सकिएको बहाना बनाइदिएँ । उसले फेरि नम्बर मागी, म आफैंले उसलो नम्बर मागेर आफ्नो नम्बर नदिई त्यहाँबाट निस्कें ।
त्यो केटि
– जसलाई देखेर आज म तर्सेको छु
– जसलाई ढाँटेर हिँड्न मलाई हतार भएको थियो
– जो सँगको २५/३० मिनेट अत्यन्तै गाह्रो सँग कट्यो
– जो सँग भेटिनुपर्ने कुराले नै म फेरि आत्तिन थालेको छु
त्यो युवती गाउँमा मैले बिताएको जीवनमा थिई । गाउँ हुँदासम्म मेरै जीवनमा थिई शायद । थिई कि थिइन त्यो म भन्न सक्दिन तर लाग्छ थिई ।
खुब शान्त, बोल्दै नबोल्ने त्यो मान्छे म सँग मात्रै हुँदा मैले बोल्नै पाउँदैन थें । उसो त म सानैदेखि कम बोल्छु । म पूर्ववत् जानेका र आफूलाई चाहिने भन्दा बढी कहिल्यै बोलिन ।
ऊ सकेसम्म मेरो त्यो बेलाको जीवनमा सधैं सँगै हुन्थी । धेरै कुरा थिए । साथ, सहयोग, समय सबै सबै थिए । प्रेममा पर्ने हाम्रो बेला थिएन, उमेर थिएन तर ती सब जे जे थिए सबै प्रेममै आधारित थिए । प्रकारान्तरले हामी मधेस झर्यौं म सँग एउटा सधैंको परिचीत अनुहार टाढा भयो ।
यो बीच मैले उसलाई कति पटक सम्झें होला भन्ने त याद छैन तर जरुर हातका औंलामा गन्न सकिन्थ्यो – यति चैं पक्का हो । तर जरुर कलेज-क्याम्पसका दिनहरूमा जबजब पनि भ्रमणको कुरा आउँथ्यो, ती दिनहरूमा मैले उसलाई जरुर सम्झेको थिएँ । भावनाहरू नजन्मिँदैको यात्रा थियो । बिस्तारै उसका अनुहार, यादहरू स्मरणहरू धूमिल बन्दै गए । मलाई उसलाई सम्झिनुपर्ने खास आवश्यकता रहेन । तर यस्तो लाग्दैन थ्यो अथवा यसरी कहिल्यै सोचेको थिइन ऊ मेरो अघि पर्दा उसलाई चिन्ने छैन । अब उ विवाहित भइसकेकी छ । अब ऊ सँग धेरै कुरा छन् । म यत्तिकैमा आत्तिएँ । आत्तिएँ फेरि भेटिएर यिनै कुरा फेरि सुन्नुपर्ने डरले । उसको भावभङ्गितामा पुरानो आचरणको हिस्सा देखिँदैन, चिसो देशको नयाँ नागरिक बनेको, जीवनयापन व्यवस्थित र समृद्ध भएका कुरा कुराकानीको प्रत्येक अंशमा भेटिन्थ्यो । त्यसैले म उसलाई अरु धेरै बेर थेग्न सक्दिन भन्ने निचोडमा पुगेको छु ।
९.
करीब महिना दिनसम्ममा त्यही चिसो देशकी नयाँ नागरिक मेरो पसलसम्म आइरहन्थी । पसलमै भेटिएकाले मैले खास तनावको समस्या बेहोर्नु परेन । एकाध समय ऊ बाहिर जाने प्रस्ताव गर्थी म कुनै न कुनै बहाना बनाएर उसैलाई त्यहीँ रोक्थें ।
नयाँ पुराना सबै घरमा म पसल विस्तार गर्ने उपयुक्त ठाउँ हेरिरहेको छु । सकेसम्म आफू पुगेका ठाउँमा कार्ड दिएर हिँडेको छु । कतै बाट खबर पनि आउँथ्यो । धेरै ठाउँमा कुनै न कुनै ढंगले चित्त बुझाउन नसकेपछि पसल विस्तारको काम यत्तिकै अल्झिरहेको थियो ।
एक दिन पसलमा बसेर त्यही गैरआवासीय नागरिक सँग चिया पिउँदै गर्दा अचानक फोन आयो । फोनमा एउटा पाको उमेरको पुरुष मेरो लागि उपयुक्त हुने ठाउँको कुरा गरिरहेको छ । म हतारिन्छु । उ सँग ठेगाना मागेर चिया त्यसै छोडेर बाइक त्यता हुइकाएँ ।
त्यो मान्छे पूर्ववत त्यहाँ उपस्थित छ । उसले सहजरूपमा आफूलाई घरधनी भएको, मेरो आवश्यकता बारे थाहा पाएको र सम्पर्क गरेको कुरा प्रष्टसँग बतायो । तेस्रो ढलान भर्खर सकिएको जस्तो देखिने घर तुलनात्मक रूपमा ठूलो र फराकिलो छ । सडक सँग जोडिएको घर पसल गर्न उपयुक्त छ, पार्किङ प्रशस्त छ । सटर र कोटाको आकार मेरो पसल भन्दा धेरै ठूला छन् । सवै कुराले ठाउँमा खोट लगाउने ठाउँ थिएन ।
त्यो परिपक्व मान्छे दशैं अघि नै घर तयार हुने कुरा गर्छ र मलाई त्यसको तयारी गर्न भन्छ । मलाई कुनै समस्या थिएन । मैले पर्याप्त ठाउँ ओगटेर केही रकम त्यस मान्छेको हातमा हालेर छोडें । आधा बर्ष अघि देखि सोचेको कुरा पूरा हुँदै थियो । कुरा जगजाहेर छ यस्तो मौकामा पिउनुपर्छ । तर आज एक्लै पिएर हुँदैन । बर्षौं देखि मेहनत गरेका कामदारलाई पनि आज केही न केही गर्दिनुपर्छ भन्ने लागेर म पसल पुग्न दौडिएँ ।
२ घण्टा जति भएको थियो पसलबाट निस्केको । तर त्यो हालकी विदेशी आइमाई अझै त्यहीँ थिई । मैले कसैलाई केही नभनी निस्केको थिएँ । म पुगेपछि ऊ पुनः मुस्कुराइ । पसल नछिर्दै मलाई बेलाबखत डिस्ट्रब गरिरहने मान्छे आइपुगी र भनी – ‘`काम बन्यो ?’
म उसलाई हेरिरहेको छु
ऊ फेरि बोल्छे – ‘कुरा मिल्यो ?’
म केही नबोलेर कुर्सीमा पुगेर बस्न लाग्दैगर्दा ऊ फेरि बोली तर अलिकति रिसाएर – ‘काम बन्यो कि बनेन भन्या ?’ आवाज अलिकति चर्को, अलिकति रिस भरिएको त्यस्तै त्यस्तै थियो ।
मैले ‘भयो’ भनेपछि उ पसलबाट निस्किइ ।
अब पालो गैरआवासीयको थियो,
अब ऊ प्रश्न गर्छे के काम भनेर । म यसै टार्न खोजिरहें ।
उसले सोधी रहि मैले लुकाई रहें ।
धेरै बेर पछि ऊ निस्केर हिँडेपछि फेरि एउटा हावाजस्तो, एउटा सरकारी आदेशजस्तो मान्छे पसलमा भित्रीयो त्यही मेरो मर्निङवाकको प्रतिफल थियो ।
अब उसका प्रश्न गैरआवासीय नारीका सम्बन्धमा थिए । तर उसका प्रश्न आज पहिलोपटक मन परिरहेका थिए । प्रश्नमा अलिकति पीडा थियो, अलिकति शंका थियो, अलिकति म प्रतिको रूझान थियो अपेक्षा थियो धेरै थोक थियो । मैले सकेसम्म थोरै बोलेर बिषय टुङ्ग्याइदिने कोशिश गरें । झुट बोल्नुपर्ने आवश्यकता थिएन । जे हो त्यो सब भन्दिनु मेरो लागि सहज थियो । बोलिसकेर उसको अनुहार पढें उत्तरले उसको अनुहार निथ्रुक्क भिजेको थियो । ओठहरू रसाएका थिए । आँखामा सन्तुष्टि थियो । निधारमा भोक थियो । हातहरू बेसाहारा देखिए । मलाई उसले पहिलोपटक नजिकबाट अझ नजिक जान मन लाग्ने बनाइ । साँझको बल्ल चार बज्ने क्रम छ । उ उभिइरहेकी थिइ । म पनि थिएँ । बोल्ने कुरा नपाएर म पसल मै यता र उता गर्न थालें । उ पूर्ववत छे, म हरक्षण स्थान बदलिरहेको छु ।
कुनै ग्राहक आएपछि म पुनः कुर्सीमा फर्किएँ । ग्राहक बाहिरिए पछि उसले सोधी – ‘आज त पार्टी होला नि ?’ रिस, डाह, खुुुसी, प्रेम, घृणा सबैैैसबै अलिकति-अलिकति मिसाएर । उसको रवैयामा खास ध्यान नदिएर
मैले सबैलाई बोलाएर पसल छिटो बन्द गर्न र बाहिर कतै बसेर रमाइलो गर्ने जानकारी दिएँ । घर पुगेर आमालाई यो सुनाउन बाँकी थियो । म केही नसोची बाहिरिएँ ।
यावत विस्तृत आमालाई सुनाएपछी आमाको प्रश्नले म झस्कें । आखिर त्यो ठाउँ भेटिनुमा कसको हात थियो ?
मैले त्यो ठाउँ आसपासका कुनै मान्छेलाई आफ्नो आवश्यकता भनेको जस्तो लाग्दैन । तर एकाएक फोन आउनु, मेरो रूचिको जस्तो ठाउँ फेला पर्नु यो सब कसरी भयो ? म फोन गरेर घरबेटीसँग त्यो सब सोध्छु । उनले त्यसलाई खासै महत्त्व नदिएपछि मैले पनि त्यसमा सोच्न छोड्दिएँ । साँझ ७ बज्नु अघि नै आमालाई सबै कुरा बताएर पसल बन्द गर्ने र कामदारलाई बाहिर खाना खुवाउन लैजाने सोचले म घरबाट निस्कें । हिँड्ने बेला आमाले ‘रक्सी अलिक कम पिउनु’ भनेको सम्झेर बाटोमा हेल्मेट भित्र हाँस्दै पसल पुगें । त्यो अघि मलाई नजिक हुन मन बनाएकी युवती त्यहाँ छैन । कर्मचारी सँग सोध्न पनि अफ्ठ्यारो लाग्यो । सात बजेतिर पसल बन्द गरेर त्यस रातको योजना सफल पार्न हामी सब पसलबाट बाहिरियौं ।
क्रमशः








