
काठमाडौं : एकतर्फी खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै रोहित शर्मा कप्तानीको मुम्बई इन्डीएन्सले पाँचौ पटक इन्डीएन प्रिमियर लिगको उपाधि जितेको छ।
छैठौं पटक लिगको फाइनल यात्रा गरेको मुम्बईले लगातार दोश्रो सिजन उपाधि जित्न सफल भएको हो।मुम्बई लगातार दोश्रो सिजन लिग जित्ने चेन्नाईपछि दोश्रो टिम बनेको छ। चेन्नाईले २०१० र २०११ मा लगातार उपाधि जितेको थियो। हारपछि पहिलो फाइनल यात्रामै लिग जित्ने दिल्लीको सपना भने साकार हुन सकेन। दिल्ली गत सिजन दोश्रो क्वालीफायरबाट बाहिरिएको थियो।

२०१० आईपीएल फाइनलमा चेन्नाईसंग पराजित भएपछि २०१३, २०१५, २०१७ र २०१९ मा मुम्बईले लिग जितेको थियो। मुम्बईको यो पाँचौ आईपीएल उपाधि हो। गत सिजन मुम्बईले फाइनलमा चेन्नाईलाई पराजित गरेको थियो।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम सम्पन्न खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले ५ विकेट गुमाएर १८।४ ओभरमै भेटायो।

मुम्बईको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। इशान किशनले अविजित ३३ रन बनाए जुन क्रममा ३ चौका र १ छक्का प्रहार गरे। क्विन्टन डीककले १२ बलमा २० तथा सुर्यकुमार यादवले २० बलमा १९ रन तथा काइरन पोलार्डले ९ रन बनाए।

रोहित शर्माले अर्धशतक बनाए
मुम्बईको सुरुवात उत्कृस्ट रह्यो। डीकक र रोहितले ४५ रनको ओपनिंग साझेदारी गरे। स्टोइनिसले पाँचौ ओभरमा डीककलाई विकेटकिपर पन्तबाट क्याच आउट गराए। पावरप्लेको ६ ओभरमा मुम्बईले आईपीएल इतिहासकै फाइनल खेलमा सर्वाधिक ६१ रन बनायो। मुम्बईलेनै २०१५ आईपीएल फाइनलमा चेन्नाई बिरुद्ध १ विकेट गुमाएर ६१ रन बनाएको थियो।








