कपिलवस्तु : पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षा सिकाई सहयोग अनुदानका शिक्षकहरुले तौलिहवास्थित शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुको कार्यालयमा आईतबार तालाबन्दी गरेका छन्। आफूहरुले पाउनु पर्ने तलब बापतको रकम चालु आर्थिक वर्षदेखि हालसम्म खान नपाएको र त्यसका लागि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले समन्वय इकाईमा तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि उनीहरुले समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे र अधिकृत अर्जुन कुँवरलाई ज्ञापन पत्र समेत दिएका थिए।
सरकारले विद्यार्थी संख्याको आधारमा कम दरबन्दी भएका विद्यालमया अनुदान बापतको एकमुष्ठ रकम पठाउँदै आएको थियो। त्यही रकम शिक्षकलाई खुवाउने गरिएको थियो। तर यस वर्ष अझैसम्म निकासा नहुँदा अनुदानका शिक्षकहरुले तलब खान पाएका छैनन्।
मावि, निमावि र प्राविका लागि वार्षिकरुपमा एकमुष्ठ रकम दिने गरिएको थियो। अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष रेशम खरालले आफूहरुले विद्यालमया पढाउदै आए पनि ५ महिनादेखि तलब नपाएको गुनासो गरे।
उनले सरकारले नै तलब नपठाउँदा आफूहरु तलबबाट बंचित हुनु परेको बताए। अनुदान शिक्षक अरुण श्रीवास्तवले सरकारले तलब नपठाएर आफूहरु अन्यौलमा परेको बताए। ‘सरकारले अनुदानको शिक्षक हट्यो भनी स्पष्ट भन्नु पर्छ नत्र हामीलाई तोकिएको समय मै तलब दिनु पर्छ’ उनले भने।
समन्वय इकाईका प्रमुख घिमिरेले मन्त्री परिषदबाट कार्यबिधि पास नहुँदा निकासामा ढिलाई भएको बताए। पुस पहिलो हप्ता भित्र अनुदानको निकासा आउने आफूहरुलाई खबर आएको उनले बताए। माविको आउने निश्चित छ तर प्राबि र निमाबिको शिक्षकको भने भन्न नसकिने उनले बताए।