दाङ : आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन्। सोमबार बिहान दाङ गढवा गाउँपालिका-१ चिसापानीकी ८४ वर्षीया केशरी घर्तीको हत्या गरेको आरोपमा २८ वर्षीया जीवन घर्ती पक्राउ परेका हुन्। नेपाल प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमाको हत्या गरेका हुन्।
उनले आफ्ना हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेतलाई घरमा सुतिरहेको अवस्थामा एक्कासि चिर्पटले टाउकोमा हानेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
कुटपिटबाट सामान्य घाइते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घाइते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
सो खबर पाएपछि अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जीवनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।