गृहपृष्ठ खबर प्रधानमन्त्री ओलीलाई देउवाको फोन- पौडेललाई किन पक्राउ गरेको, तत्काल छोड्नू

प्रधानमन्त्री ओलीलाई देउवाको फोन- पौडेललाई किन पक्राउ गरेको, तत्काल छोड्नू

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न भनेका छन्। बुधबार तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

पुल उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसबीच झडप हुन सक्ने भन्दै बुधबार बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न पौडेल गएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। पौडेल पक्राउ परेपछि सभापति देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेका हुन्।

‘वरिष्ठ नेतालाई पक्राउ गरेको विषयमा सभापतिज्यूले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। उहाँलाई तत्काल रिहाइ गर्न सभापतिले प्रधानमन्त्रीलाई भन्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले भन्यो, ‘जवाफमा प्रधानमन्त्रीले रिहाइ गरिन्छ भन्नुभएको छ।’

सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए। तनहुँमा मंगलबार पनि पुल उद्घाटन कार्यक्रम विवादित बनेको थियो। आज पनि पौडेलले अर्को पुल उद्घाटन गर्न लागेपछि नेकपाले विरोध गरेको छ।

पौडेललाई रिहाइ गर्न माग गर्दै तनहुँमा जिल्ला प्रहरी कार्यालयअगाडि कांग्रेस कार्यकर्ताले टायर बालेर प्रदर्शन गरिरहेका छन्।नेकपाका पाँच जना स्थानीय कार्यकर्तालाई पनि प्रहरी बुधबार दिउँसोदेखि नियन्त्रणमा राखेको छ।

संघीय सरकारका बजेटबाट बनेका योजना प्रतिपक्षी दल कांग्रेसका नेताले उद्घाटन गर्दै हिँडेको भन्दै नेकपाले विरोध गरिरहेको छ।

कांग्रेस नेता पौडेलले भने आफ्नो निर्वाचन क्षेत्रमा आफूले बजेट जोहो गरेको र शिलान्यास गरेका पुललगायत संरचनाको उद्घाटन् आफूले गर्नु स्वभाविक भएको तर्क गरेका छन्।

 

सम्बन्धित् समाचार