गृहपृष्ठ Featured “आइमाई”

“आइमाई”

प्रकाशित मिति:
आइमाई हुँ
कुनै पुरुषको आइमाई ।
तिम्रो
चप्पल देखि टोपिसम्म
भान्सादेखी भकारीसम्म
घरदेखी गोठसम्म
तिम्रो
मनदेखी यौवनसम्म
चाहनादेखी सन्तुष्टिसम्म
सबै सम्हाल्नुपर्छ
ख्याल राख्नु पर्छ
तिम्रो परिकार र स्वाद
आफ्नो भन्दा धेरै
तिम्रो इज्जतको
ख्याल राख्नु पर्छ
जो !
एकसिउँदो सिंदुरले
सधैं सधैंलाई
तिम्रो नामको
छाप लगाएका थियौ
लाग्छ
म जिउन हैन
घर गरीखान जन्मिएको हुँ
घर गर्दागर्दै
मरिजान जन्मिएको हुँ
बलियो हुँदाहुँदै पनि
यहि पुरुष सत्ताले
कम्जोर बनाएको
एउटा अभिन्न पात्र
आइमाई हुँ
कुनै पुरुषको आइमाई ।
मैले
सिंदुरपोते पनि
शृङ्गार सम्झिएर हैन
कसैकी
आइमाई हुँ भनेर चिनाउँन
लगाउँनु पर्छ
तिम्रै
उपस्थितिमा मात्रै
सौभाग्यवती हुनपाउँछु
नाम हुँदाहुँदै पनि
गुमनाम हुनुपर्छ
लाग्छ
अहंकारको अर्को नाम
पुरुष हो
हैन भने
ख्याल हुनुपर्थ्यो
तिमीलाई
उत्तेजित हुनपनी
आइमाइकै परिकल्पना गर्नुपर्छ
दुइखुट्टा बिचमा थकित
तिम्रो पुरुषसत्ता
तिम्रो अहंकार
तिमी हुनुको अस्तित्व
जसलाई
उभ्याउन पनि
एउटी
आइमाईकै सहारा चाहिन्छ ।

सम्बन्धित् समाचार