
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मेहेनतका साथ काम गरिरहेकाले धेरै चिन्ता लिनुपर्ने र निराश हुनुपर्ने अवस्था नभएको बताएका छन्।
शुक्रबार ‘जुम’मार्फत् पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले नेकपाभित्र र देशमा भइरहेको समस्या एउटा सामान्य झट्कामात्र भएको बताए। प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा विभाजन नभएको तर केही मानिसहरू अलग भएर गएको र उनीहरू प्रतिगमनको यात्रामा रहेको उनले तर्क गरे।
‘मैले आफ्नै जिन्दगीमा पनि स-साना समूह तितरवितर भएका पार्टीहरूलाई एक गरेर आफैंले दुई तिहाइ ल्याएको अनुभव सँगालेको छु। जेलमा हुँदा पनि मैले कहिले आशा गुमाइनँ,’ ओलीले भने, ‘अहिले हाम्रा विचार महान् छन्, सही बाटो लिएका छौं। सशक्त संगठन र सक्रिय छौं। तसर्थ देशको अग्रगमनको यात्रा अगाडि बढ्छ, सहयोग पुर्याउनुस्।’
निराश जनता खतरनाक हुने भनाइ उल्लेख गर्दै उनले देशको अग्रगमन आशावादीता र आत्मविश्वासबाट बन्ने बताए। उनले कतिपयले अहिले पनि बिरामी प्रधानमन्त्री भन्ने गरेको भए पनि आफू स्वस्थ भएर काम गरिरहेको बताए।
‘तपाईंहरूलाई कतिपयले बिरामी प्रधानमन्त्री भनेका होलान्,’ ओलीले भने,‘कुनै बेला बिरामी पनि थिएँ। तर अहिले कम्युनिष्ट आन्दोलन र यो देशको सुशासनको अग्रभागमा छु।’
उनले आफूले कति काम गर्छु भन्ने कुरा अरूबाट सुनिने बताए। ‘मैले कति काम गर्छु भन्ने साथीहरूबाट सुन्नु भएकै होला। त्यसैले निराश नहुनु होला,’ उनले भने।








