
काठमाण्डौ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा सोमवार भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकाले तत्काल पूर्णता दिन आग्रह गर्नुभयो ।
उहाँले वास्तविक भूमिहीनको लगत सङ्कलन सम्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गाधनी पुर्जा उपलब्ध गराउन निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ । ‘स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौंँ’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘काम र परिणाम पनि त्यहीअनुसार आउने गरि काम गर्नुहोस् ।’
कार्यक्रममा आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले पालिकासँग पनि सहकार्य र समन्वय गर्दै काम गरिएको जानकारी दिँदै आफूहरूले १८ घण्टा खटेर काम गर्ने बताउनुभयो । उहाँले आयोगका पदाधिकारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गर्नुभएको थियो ।
आयोगका अनुसार ७४ जिल्लाका चार सय एक पालिकासँग भूमिहीन दलित, सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापनका लागि समझदारी भइसकेको छ भने १४ पालिकामा लगत सङ्कलन जारी छ । आउँदो फागुनसम्ममा सा सय ५३ पालिकासँग समझदारी गरि एक सय पालिकाको लगत सङ्कलन सम्पन्न गरि कम्तीमा पाँच लाख परिवारको विवरण सङ्कलन गरिनेछ । यस्तै २०७८ साल असारसम्ममा कुल एक सय पालिकाको नाप जाँच गरि कम्तीमा ५० हजारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी छ ।








