गृहपृष्ठ खबर वर्तमान सरकार जंगली : प्रचण्ड

वर्तमान सरकार जंगली : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जंगली भएको बताएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेना, नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले १० वर्षे सशस्त्र जनयुद्धमा बरु आफूहरु अनुशासित भएको तर केही मान्छेले जंगली भन्ने गरेको सम्झना गर्दै अहिलेको सरकार चाहिँ जंगली भएको टिप्पणी गरेका हुन् ।

प्रचण्डले केही व्यक्तिले जंगली भएको आरोप लगाए पनि युद्धको समयमा आफूहरु जनताको काखमा भएको दाबी गरे । उनले केपी ओली नेतृत्वको सरकारले नियम कानुन र संविधान नमानेको भन्दै जंगली भएको आरोप लगाएका हुन् ।

‘अहिले सरकारले जे मन लाग्यो त्यही गर्न थालेको छ । बरु हामी अनुशासनमा थियौँ । विधिमा थियौँ । विचार र पद्धतिमा थियौँ । दर्शनमा थियौँ । तर, हामीलाई केही मान्छेले जंगली भन्थे । तर, हामी जंगली त थिएनौँ । जनताको काखमै थियौँ’, प्रचण्डले भने, ‘तर, अहिले केपीको नेतृत्वमा जुन सरकार चलेको छ त्यो चाहिँ जंगली भयो । न संविधान मान्नु छ, न नियम कानुन मान्नु छ ।’

प्रचण्डले सरकारले विधि पद्धति तोडेर संवैधानिक परिषद्को नियुक्ति र शपथ गराएको भन्दै आपत्ति जनाए ।

‘विधि पद्धति सबै तोडेर संवैधानिक परिषद्को शपथ गराइयो । गर्नै नहुने काम भयो’, प्रचण्डले भने, ‘जंगली राज भएको संकेत भएको छ । निरंकुशता भएको संकेत भएको छ । निरंकुशता सुरु भएको महसुस भएको छ ।’

सम्बन्धित् समाचार