
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० आधिकारिक भएको बताएका छन्। मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले ओलीले नेतृत्व गरेका नेकपा नै आधिकारीक भएको दाबी गरे। प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन अयोगको कानुन, नीति, नियमलाई नबुझिकन दाबी गरेको उनको भनाइ छ।
निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता ओलीलाई मात्रै चिनेको जिकिर गर्दै मन्त्री गुरुङले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए।
उनले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरे। तोकिएकै मितिमा निर्वाचन गर्नका निम्ति सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने बताए।








