गृहपृष्ठ खबर लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने

प्रकाशित मिति:

बुटवल : कोरोना भाइरसको संक्रमणपछि थलिएको आर्थिक क्षेत्रलाई माथि उठाउन लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ। बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आगामी चैत १९ र २० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले दुई दिनसम्म हुने उक्त सम्मेलनले प्रदेशको मात्र नभई देशकै आर्थिक क्षेत्र चलायमान हुने विश्वास लिइएको बताए।

लुम्बिनी प्रदेश सरकारले गत वर्ष नै गर्ने भनेको लगानी सम्मेलन कोरोना महामारीका कारण रोकिएको थियो।

लगानी सम्मेलनको मिति तय गरिएको भए पनि स्थान भने कहाँ गर्ने भन्नेबारे तय नभइसकेको उनले बताए। तर प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरिको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्य रहेको तयारी समिति गठन गरिएको चौधरीले जानकारी दिए।

यस्तै, हाल कोरोना संक्रमणको जोखिम रहिरहेकोले प्रदेशका चार वटा आइसोलेसन केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आगामी चैत मसान्तसम्मको म्याद थप गरिएको छ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपेन्द्र बहादुर जिसीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

जिसी हाल नेकपा लुम्बिनी प्रदेशका सदस्य एवं प्रचार विभाग प्रमुख छन्। जिसीलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता चौधरीले जानकारी दिए। त्यस्तै, मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा दाङका छविलाल वलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

सम्बन्धित् समाचार