गृहपृष्ठ खबर सिंहदरबारका तीन मोहडा पुनःनिर्माण सकिएपछि प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण सकिएपछि प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

प्रकाशित मिति:

काठमाण्डौ : भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको पुनर्निर्माण सकिएको छ । आन्तरिक साजसजावटसमेत सकेर आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।

सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा विसं १९६० मा बनाउन लगाएको ऐतिहासिक तथ्य छ ।

सम्बन्धित् समाचार